काठमाडौं–कानून मन्त्री शेरबहादुर तामाङले बंगालादेशमा अध्ययन गर्न गएका नेपाली छात्राहरुको विषयमा बोलेको अभिव्यक्ति र छात्राहरुलाई परेको चोटप्रति क्षमा मागेका छन् ।
मन्त्री तामाङले आज एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरुले भोगेको समस्या अन्त्य हुनुपर्छ भन्ने आफ्नो भनाइको आशयको भएको भन्दै प्रष्टिकरण दिएका छन् ।
विज्ञप्तिमा तामाङले लेखेका छन्,‘बंगालादेशमा हाल २ हजार भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्यनरत रहेको अवस्था छ । ती विद्यार्थीहरुले बंगलादेशमा भोग्नु परेका केही समस्यालाई मैले उजागर गरेको हो ’ विज्ञप्तिमा भनिएको छ,‘नेपाली छात्राले बंगलादेशमा अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीका रुपमा समेत रहेका छन् । नेपाली विद्यार्थीले विदेशमा गई चिकित्सा विषय अध्ययन गर्नुको विकल्पमा नेपालमा नै सो विषयमा अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा विदेशमा नेपाली विद्यार्थीहरुले त्यस्ता समस्या भोग्ने अवस्था अन्त्य हुन्छ भन्ने मेरो आशय हो ’
उनले आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोट प्रति क्षमायाचना गरेका छन् । महिलाहरुको आत्म सम्मान, हिंसा मुक्त समाज र नारी अश्मिताको रक्षामासदैव प्रतिवद्धता र क्रियाशलिता रहिरनेमा सबैलाई विश्वास दिलाउन चाहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कानून मन्त्रिको यसअघिको अभिव्यक्तिपछि सामाजिक सञ्जालहरुमा आलोचना भएको थियो ।
आफ्नै पार्टी नेकपाका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले कानूनमन्त्रीको भनाइ दुखद् भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।
के भनेका थिए कानून मन्त्रीले–
‘बंगालादेशबाट पढेर आउँदा २१ जना डाक्टरले ज्यान गुमाउनु पर्योक, कति मार्मिक छ अवस्था ।
आज म कथा खोल्छु, बंगलादेशमा कयौं चेलीहरु हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ ।
मैले सुनेको छु, डाक्टरको सर्टिफिकेट लिनकोे उनले कही नै कही आफूलाई बेच्नै पर्छ ।
यति मार्मिक छ अवस्था, उनीहरुले खोलेका छन् कथा । हामी हाम्रा छोरीलाई विदेश पढ्न पठाउँछौं तर उसले सर्टिफिकेट पाउन आफूलाई सुम्पनुपर्ने अवस्था छ ।
त्यसैले सबैले मुलुकमा नै पढ्न पाउनु पर्छ भन्दा हुँदैन भन्दै प्लेकार्ड बोक्छौं । मुलुकको संवृद्धिको लागि अगाडि बढ्न खोज्दा अवरोध हुन्छ ।’ लोकान्तर बाट










