काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई खुला बहसका लागि आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अनसनरत डाक्टर गोबिन्द केसीलाई खुला दिमागका साथ शिक्षा–स्वास्थ्य क्षेत्र सुधारका लागि बहसमा आउने आह्वान गरेका छन् । बहसबाट आएको उचित निश्कर्षसहित मुलुकको हितमा बिद्येयक बनाउने काममा सघाउन सार्वजनिक आमन्त्रणसमेत गरेका छन् ।

‘अर्घेल्याई, अण्टसन्ट होइन, स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउनोस, चिकित्सा शिक्षा आयोगको अध्यक्ष पनि तपाई आफै बन्नोस,’ डा केसीलाई बहसमा निम्तो दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ, तर्कपूर्ण बहस गरौं । तपाई नै जिम्मा लिनुस्, आयोग चाहिन्छ भन्नुहुन्छ तपाई नै अध्यक्ष बन्नुस ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको ठोकुवा पनि उनले गरे । सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न भने सरकार सदैव तयार रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसपछि निकै आक्रामक देखिएका प्रम ओलीले भने ‘म कांग्रेसलाई भन्न चाहन्छु, गोविन्द केसीलाई जुम्लाबाट ल्याउन नदिएर उपद्रो मच्चाइयो । कांग्रेसले गर्न खोजेको के हो ?’