परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सोमबार पोर्चुगलतर्फ जाने भएका छन् । आफ्ना समकक्षी अगष्टो सान्तोस शिल्भाको निमन्त्रणामा सोमबार उनी त्यहाँको राजधानी लिस्बनतर्फ प्रस्थान गर्न लागेका हुन् ।
मन्त्री ज्ञवाली र शिल्भाबीच बुधबार दुईपक्षीय हितका विषयमा वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लिस्बनको दुई दिने औपचारिक भ्रमणपछि मन्त्री ज्ञवालीले बेल्जियम र लक्जेम्बरको भ्रमण गर्ने छन् ।
यस्तै साउन १० गते मन्त्री ज्ञवालीले बेल्जियमको राजधानी ब्रसेल्समा बेल्जियमका उप–प्रधान तथा विदेश मन्त्री डिवेर रेन्डरससँग छलफल गर्नेछन् । त्यही दिन नेपाली राजदूतावास र युरोपेली संघको एसिया अध्ययन केन्द्र नामक संस्थाले संयुक्तरुपमा आयोजना गर्ने ‘नेपालको लक्ष्यः सामाजिक र राजनीतिक परिर्वतनका माध्यमबाट उपलब्ध राजनीतिक परिर्वतनको रक्षा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै मन्त्री ज्ञवालीले भ्रमणका क्रममा युरोपमा अवस्थित नेपाली राजदूतहरुको सम्मेलनलाई ब्रसेल्समा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै युरोपमा रहेका गैर–आवासिय नेपालीहरुको ११ औँ सम्मेलनलाई लक्जम्भरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री ज्ञवालीले लक्जेम्बर्गका विकास सहयोगी तथा मानव अधिकार मामिला मन्त्री रोमेन सिन्डरसँग पनि भेट्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।
नेपालले विदेश नीतिमा दुई छिमेकी मुलुक भारत र चीनलाई मात्र प्रथमिकता दिएको गुनासो चलिरहेका बेला मन्त्री ज्ञवाली परराष्ट्रमन्त्रीको हैसियतमा पहिलो पटक युरोपियन देशको भ्रमणमा जान लागेका हुन् । मन्त्री ज्ञवाली साउन १६ गते नेपाल फर्किने कार्यक्रम छ ।










