लक्ष्मी काफ्ले
अघिल्लो महिना असारमा मात्र इलाका प्रहरी कार्यालय बिर्तामोडले नजिकैका विभिन्न होटलबाट २२ जनालाई पक्राउ गर्यो । यौनकार्यमा संलग्न भएको भन्दै उनीहरुलाई प्रहरीले समातेको हो । पक्राउ पर्नेमा १९ जना नेपाली र ३ जना भारतीय नागरिक छन् । यसमा महिलाको संख्या ९ छ । होटलमा ग्राहक बनेर यौन क्रियापलापमा संलग्न हुने पुरुषहरु पनि ९ जना नै पक्राउ परे । प्रहरीले एक महिलासहित जम्मा ४ जना होटल सञ्चालकलाई समेत पक्राउ गर्यो ।
यसक्रममा बिर्तामोडको भ्यु प्वाइन्ट नामको होटलबाट मात्रै प्रहरीले ३ पटक यौन जोडीहरुलाई नियन्त्रणमा लियो । न्यू दार्जिलिङ, युनिक र झरना होटलबाट एक÷एक पटक पक्राउ परे । बिर्तामोडका होटलबाट प्रहरीले हरेक महिना यसरी नै यौन क्रियाकलापमा संलग्न जोडीहरुलाई पक्राउ गर्छ । प्रहरीको सक्रियतासँगै विगतका वर्षहरुमा भन्दा अहिले होटलमा यस्ता गतिविधिमा कमी त आएको छ, तर पूरै नियन्त्रण भने हुन सकेको छैन ।
भारतका पुरुष, नेपालका महिला ! प्रहरीका अनुसार यौन प्यास मेटाउनका लागि भारतीय नागरिक बिर्तामोडका होटलसम्म आउने गर्छन् । ‘भारतका राजनीतिक दलका नेतासम्म पक्राउ परेका छन्,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले भने, ‘म फलानो पार्टीको अध्यक्ष हुँ, खाजा खान एकछिन नेपाल आएको भन्छन् ।’
होटलबाट पक्राउ पर्ने युवतीमा बढी पहाडी भेगका छन् । उनीहरु पटक पटक पक्राउ परिरहन्छन् । केही महिनाअघि डिएसपी कोइरालाले १४ वर्षकी एक किशोरीलाई होटलबाट नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाएको थिए ।
होटलले राख्दैन परिचयपत्र ‘हामीले होटल सञ्चालकलाई कम्तिमा ग्राहकको आइडी कार्ड राख्नु भन्ने गरेका छौँ, तर नाम चलेकै होटलले आइडी कार्ड राख्दैनन्,’ डिएसपी कोइरालाले भने, ‘होटलमा यौनजन्य गतिविधि नियन्त्रण भयो, निमिट्यान्न चाहिँ भएन, यो आम्दानीको सजिलो माध्यम रहेछ ।’
प्रहरी स्रोतका अनुसार यस्ता गतिविधि गर्ने होटलले ५ दिन मात्र प्रहरीको आँखा छल्न पाउँदा दर्बिलो आम्दानी गर्छन् । एक प्रहरी भन्छन्, ‘अहिले त होटल सञ्चालकहरु नै बाठा भइसके, एउटा छतबाट अर्को छतमा भाग्न सक्ने बनाएका छन् ।’ प्रहरीले कडाइ गर्न थालेपछि ‘खाजा घर’को बोर्ड राखेर यौनजन्य क्रियाकलाप गराउने केही स–साना होटलहरु बन्द नै भए ।
महिलाले ढाँट्छन् ठेगाना होटलका कोठामा भेटिने कतिपय महिला भने आफ्नै इच्छाले पनि यौन व्यवसायमा लागेको प्रहरी बताउँछ । पक्राउपछि प्रहरीले सोधपुछ गर्दा उनीहरु आफ्नो ठेगाना ढाँट्छन् । पूर्वकाले पश्चिम ठेगाना बताउँछन्, पश्चिमकाले पूर्व । प्रहरीले उनीहरुलाई सामाजिक सुरक्षा ऐनअन्तर्गत कारबाही चलाउँछ ।
‘खाजा घरका सञ्चालक आफैँ गएर धरौटी रकम तिरेर ती महिलालाई छुटाउँछन् र फेरि यौनकर्ममै लगाउँछन्,’ बिर्तामोडका डिएसपी कोइरालाले भने । जीविको पार्जनका लागि कतिपय महिला भने बाध्यताले यौनकर्ममा लागेको पनि डिएसपी कोइराला बताउँछन् ।
‘धेरैजना बाध्यताले यो पेशामा लागेका छन्, उनीहरुको संरक्षण कसले गर्ने ?,’ उनले भने, ‘मैले एउटी महिलालाई माइती नेपालमा जाउ, केही शीप सिक, इज्जतसाथ बाँच्न सिक भनेर धेरैपटक सम्झाएँ । तर, ती महिलाको पीडा अर्कै रहेछ ।’
‘म माइती नेपाल गएर ६ महिनासम्म बस्दा, मेरी बुढी आमालाई औषधि किन्ने पैसा कस्ले दिन्छ, मेरा बुवालाई अस्पतालसम्म कसले लगिदिन्छ, माइती नेपालभित्र म त बसुँला, मेरा बाबुआमा के गरी बाँच्छन् ?,’ ती महिलाले डिएसपी कोइरालालाई यस्तो प्रश्न गरेकी रहेछिन् ।
प्रहरीको मात्र दायित्व होइन प्रहरीले यौनकर्ममा संलग्न कतिपय महिलालाई माइती नेपालसँग सहकार्य गरी पुनःस्थापना गराउने गरेको छ । प्रहरीले कडाई गर्न थालेपछि अहिले बिर्तामोडका होटलमा खुला रुपमा महिला राख्न छाडिएको छ । त्यसको साटो होटल सञ्चालकले गाउँघरतिर डेरा लिएर यौन व्यवसाय सञ्चालन गर्न थालेको स्रोत बताउँछ ।
होटलमा महिलामाथि हुने यौन हिंशा रोक्ने दायित्व प्रहरीको मात्र नभएको डिएसपी कोइराला बताउँछन् । स्थानीय तहको पनि सहयोग चाहिने उनले बताए ।
-नया पत्रिका बाट साभार









