जनकपुर, साउन ९ । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले हत्या मुद्दा नै प्रदेशसभा सांसद अभिराम शर्माको राज्यमन्त्री बन्ने योग्यता रहेको बताएका छन् ।

तेस्रो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट थुँतेर हत्या गरेको अभियोग लागेका शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन राजपाले सिफारिस गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकाले शर्मालाई प्रदेश २ को राज्यमन्त्री सिफारिस गरिएको हो,’ यादवले भने, ‘राज्यले फसाउनका लागि चलाएको मुद्दा नै उनको राज्यमन्त्री बन्ने योग्यता हो ।’ उनले अधिकारका लागि आन्दोलन गर्दा शर्मालाई राज्यपक्षबाट मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए ।

‘शर्मामाथि मधेस आन्दोलनका क्रममा भएको घटनामा आरोपित बनाइएको छ, कुनै नैतिक पतनको मुद्दा होइन,’ उनले भने । मधेस आन्दोलनका क्रममा लगाइएको मुद्दा सरकारले फिर्ता लिने सहमति गरेको यादवको दाबी छ । कान्तिपुरमा खबर छ ।