–क्विन्ट-स्वामी अग्निवेश
सामाजिक अभियान्ता स्वामी अग्निवेश यही हप्ता भारतमा बढिरहेको हिन्दु अतिवादीहरूको भीडले कुटपिट गर्ने कार्यको शिकार भए । सौभाग्यवश अन्य घटनामा जस्तो उनलाई भीडले हत्या गर्न भने सकेन । भारतीय समाचार बेवसाइट ‘क्विन्ट’सँग कुरा गर्दै अग्निवेशले आफूमाथि भएको आक्रमण र मोदीको भीडबाट भइरहेको यी हिंसाप्रतिको रहस्यमयी मौनतामा आक्रोश पाखे ।
(घटना हुनुअघि) म पत्रकारहरूसँग कुरा गरिरहेको थिएँ । त्यहीबेला कसैले बाहिर केही एबीभीपी (भारतीय सत्तारुढ दल भाजपाको मातृ संगठन आरएसएससम्बद्ध विद्यार्थी सङ्गठन) र भारतीय युवा मोर्चाका कार्यकर्ताहरू तपाईं विरुद्ध विरोध प्रदर्शन गर्न चाहन्छन् भने ।
त्यसपछि मैले, स्वतस्फूर्त रूपमा, उनीहरूलाई भित्र बोलाउन भने । केही मुद्दा छन् भने हामी यहीँ सुल्झाउनेछौँ, बाहिर किन उभिरहेको भने ।
कोही आएनन् र प्रतिक्रिया नजनाएपछि पत्रकार सम्मेलन सुरु भयो । जब पत्रकार सम्मेलन सक्कियो, म दालभात खाएर बाहिर निक्लेको मात्र थिएँ, डेड सय मानिसहरू रहेको एकदम आक्रोशित एक भीड ममाथि आइलाग्यो ।
एकदम आक्रामक ढङ्गले मतर्फ अगाडि बढिरहेका भीडलाई मैले हात जोडेर हाउभाउको भाकामा ‘मैले के गल्ती गरेँ, त्यो त बताऊ’ प्रश्न गरेँ ।
त्यति भन्न मात्र के पाएको थिएँ, उनीहरूले मलाई समाते र मलाई जथाभावी पिट्न थाले । कपडा च्याते अनि भूमिमा लडाए । म एक अढाई फिट जतिको खाल्डोमा परेँ । त्यसपछि उनीहरूले मलाई खुब पिटे । एक भीड मलाई मार्न तयार भएको थियो । यो सबै सायद ५, ७ मिनेट चल्यो होला । त्यो अवधिमा म अब बाँच्छु पनि होला भन्ने आशा त्यागिदिएको थिएँ ।
भीडले मलाई मरणासन्न हुने गरी पिटेर छाडेपछि त्यो क्षेत्रका एसपी वर्णवाललाई फोन लगाएँ । फोनमा मैले यस्तो यस्तो भयो भनेँ । उसले यसबारेमा केही जानकारी नै नभएको जसरी ‘ठीक छ ! ठीक छ ! म प्रहरी पठाउँछु’ भने ।
मैले भने प्रहरी पठाउन पर्दैन, तपाईं आफै आउनु । हेर्नुस्, तपाईंको राज्यमा ममाथि के भयो । उनी आउनका लागि तयार थिएनन् । मैल डिसीलाई फोन गरेँ, उनी पनि आउन तयार थिएनन् । त्यो अवस्था देखेर म अचम्म परेँ । यति ठूलो घटना भएको छ र उनीहरू आइरहेका छैनन् ।
तब केही पत्रकारहरूले मलाई के बताए भने त्यही दिन सर्वोच्च अदालतबाट एक ठूलो फैसला आएको छ । फैसलामा भीडले कुटपिट गर्ने घटनामा राज्य र केन्द्र दुवैले ठूलो शक्ति लगाएर घटनाको सामना गर्नुपर्छ भनिएको छ ।
त्यसपछि मैले चिफ सेक्रेटरीलाई फोन गरेँ । मिस्टर त्रिपाठी छन्, झारखण्डका । उनले फोनमा मेरो कुरा सुन्नासाथ ‘म तपाईंलाई चिन्छु, म एसपीलाई तपाईंलाई भेट्न भन्छु’ भने ।
https://youtu.be/oUB82QFqY9Q
त्यसको केहीपछि वर्णवाल आए र आउना साथ मलाई भन्न थाले कि ‘हेर्नुस् हामीलाई तपार्इं आउने कुनै सूचना नै थिएन । त्यसपछि कार्यक्रम आयोजकसँग एउटा कागज थियो, त्यो उनलाई देखाएँ । त्यसपछि उनको अनुहार न्याउरो भए । उनीसँग बोल्ने कुरै थिएन ।
पछि जब मलाई प्राथमिक उपचारका लागि पाकुडा अस्पताल लगियो । त्यहाँ डिसी महोदय आए । केही सहानुभूति देखाउनका लागि । यसको अतिरिक्त मैले कुनै प्रहरी, सुरक्षा वा केही पनि देखिनँ ।
पछि मैले थाहा के पाएँ भने मेरा एक आदिवासी कार्यकर्ता पी माल्टोले मेरातर्फबाट एफआईआर दर्ता गरे । त्यसमा आठ जना रिङ्ग लिडर थिए, सबै जिल्लाका प्रमुखहरू थिए । त्यसमा भाजपा र आरएसएसको संयुक्त रूप, जसलाई हामी सङ्घ परिवार भन्छौँ, त्यसकै मान्छेहरू थिए । तर उनीहरू चलाखीपूर्ण रूपमा यो नाम, त्यो नाम गरेर दश नाम राख्छन् । मान्छेचाहिँ फेरि एउटै हुन्छ ।
त्योमध्ये नाम जसलाई स्थानीय मानिसहरूले पहिचान गरे उनीहरूको नाममा एक ‘एफआईआर’ दर्ता भयो । मैले अब कारबाही होला भनेर सोचेँ । पछि फकिर्नका लागि जब म स्टेसन जाँदै थिएँ, तब आठ जना मानिस पक्राउ परेको जानकारी भयो ।
तर अघिल्लो दिन राँची पुग्दा के थाहा भयो भने गिरफ्तारी गरिएको दुई घण्टाभित्रै उनीहरूलाई छोडिइएछ । कसैलाई कुनै कारबाही भएन ।
यो हो पूराका पूरा नाटक, जसलाई प्रायोजित भनिन्छ, त्यही । यो त्यस्तो बेनामी मानिसहरूको भीडले गरेको आक्रमण पनि थिएन । बकाइदा एक राज्य प्रायोजित, एक पार्टी विशेष, सङ्घ परिवारसँग सम्बन्धित मानिस थिए, उनीहरूको आक्रमण थियो ।
मुस्लिम युवकको भीडबाट हत्या र मोदीको रहस्यमयी मौनता
पहलु खानको जहाँ हत्या भएको थियो, त्यही वरिपरि २८ वर्षका नौजवान अकबर हत्या गरियो । आज तिनको बच्चाको तस्बिर हेर्नुस्, म तपाईंहरूलाई भन्छु कि ती बच्चाहरू र उनको श्रीमतीको तस्बिर संसारलाई देखाउनुस् । ती मेरी बहिनी हुन्, ती बच्चाहरू मेराजस्तै हुन् । कसरी मार्न सक्छौ तिमीहरू उसको बाबुलाई ? सोध्नुस् त सही ।
यस्तोमा नरेन्द्र मोदी चुप छन् ? सरम आउँदैन उनलाई ? भाषण छाँट्छन् उहाँ– दुनियाभरीको कुरामा भाषण, सबैभन्दा बढी बोल्छन् र अलग अलग तरिकाबाट । ‘मनका कुरा’मा अर्कै छ त मिडियामा अर्कै । यो विषयमा चाहिँ किन बोलिरहेका छैनन् र बोलिरहँदा पनि दबाब किन दिइरहेका छैनन् ।
आजभन्दा तीन वर्ष पहिले तपाईंको दिल्लीको नाकको तल दादरीको विसडा गाउँमा रातको नौ बजे मन्दिरमा लाउडस्पिकर बजाएर भीड जम्मा गरियो । साढे दश बजे उसको घरमा अढाई सय मानिस पसेर फ्रिजमा गाईको मासु राखिएको आशङ्काको भरमा उसका पत्नी र बच्चाहरूको अघि पिटी पिटी मारियो ।
उसको एक छोरा भारतीय एअर फोर्समा काम गर्छ । देशभक्त मानिसहरू हुन् । तिमीहरूलाई यति पनि थाहा छैन । पछि तिमीहरू भन्छौ कि हामी मासु केको थियो भनेर फोरेन्सिक ल्याबमा अनुसन्धान गर्छौं । त्यस्तोमा उनकी छोरीले सोधेको कुराले तिमीहरूको मन छोएन । उनले ‘यदि रिपोर्टमा गाईको मासु नभएर भैँसी वा खसीको थियो भन्ने आयो भने तिमीहरू मेरो बुबालाई फिर्ता गरिदिन्छौ ?’ भनेर सोधेकी थिइन् । यति जाली प्रधानमन्त्री ! यो भारतको दुर्भाग्य हो । यी सबै हिन्दुकै बदनामी गरेर फेरि हिन्दुत्वको नाममा पिटिरहेका छन् । ममाथि आक्रमण भइरहँदा उनका नारा भने– जय श्री रामको लगाइरहेका छन् ? उही राम जो पूरै मानवताको दुनियाभित्र एक आदर्श प्रतीक हुन् । उसलाई पनि बदनाम गरिरहेका छौँ । तपाईं के गर्न खोजिरहनुभएको छ ?
एजेन्सी
रातो पाटी बाट साभार









