भरतपुर महानगरपालिकाले भरतपुरका मुख्य राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई गुड्न नदिने निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

आज बुधबार भरतपुर जिल्ला प्रशासन कार्यालयनजिक प्रदर्शन भएको थियो । प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि प्रदर्शन तनावपूर्ण भएको छ ।प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै निजी मोटरसाइकलमा आगजनी गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदर्शनकारीले प्रहरी चौकीमा आक्रमण गर्न थालेपछि प्रहरीले १० राउन्ड हवाईफायरका साथै दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।

झडपमा दुईजना प्रहरी र केही आन्दोलनकारी घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार जबर्जस्ती राजमार्ग बन्द गरेर आवागमन प्रभावित गरेपछि खुलाउने क्रममा झडप भएको हो । प्रदर्शनकारीले १ घन्टा राजमार्ग बन्द गराएका थिए ।

बन्द राजमार्ग खुलाउन नमान्दा प्रहरीले नियन्त्रणमा लिने खोज्दा प्रहरीकै कार्यालयमा आगो लगाउन खोजेपछि बल प्रयोग गरिएको एसपी राठौरको भनाइ छ । केही आन्दोलनकारी पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिकाले साउन ५ गतेदेखि सो क्षेत्रका मुख्य राजमार्गमा तीनपांग्रे सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको थियो । महानगरको सो निर्णयको विरोधमा उच्च अदालत हेटौँडामा व्यवसायीले मुद्दासमेत दर्ता गराएका छन् ।

अदालतले पनि वैकल्पिक सडक भएका स्थानमा ती सवारीसाधनको विरुद्धमा महानगरकै पक्षमा फैसला गरेको थियो । राजमार्गमा गुड्न पाउनुपर्ने अडान मजदुरले नछाडेको र महानगरले सवारी चाप अधिक भएकोले दुर्घटना बढाएको भन्दै राजमार्गमा कुनै पनि हालतमा गुड्न नदिने बताउँदै आएको छ ।