१० साउन – बुधबार राति काठमाण्डुको गोंगबुबाट लुटिएको १ किलो सुन फेला परेको छ । गोंगबुस्थित राप्ती पाहुना घरको २०२ नम्बर कोठाबाट बुधबार राति ८ बजे दाङका सुन व्यवसायी खड्ग बहादुर सुनार सुन लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए ।

१ किलो सुन र २ लाख १७ रुपैयाँभन्दा बढी रकम लुटिएको भन्दै प्रहरीमा खबर गरेपछि काठमाण्डु प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल आफैं घटनास्थल पुगेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको प्रकृति हेर्दा सुन लुटिएको नभएर लुकाएको हुनसक्ने भन्दै प्रहरीले सुन हरायो भन्ने सुनारलाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

अनुसन्धान गर्दै जाँदा सुन लुटिएको नभएर नाटकीय शैलीमा सुन लुकाएको फेला परेको काठमाण्डु प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले बताए । सुनारले सुन गोंगबुस्थित बिजीमलमा लुकाएर समितिको सुन पचाउन नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दाङ सुन व्यवसायी समितिको सुन सुनारले बुधबार मात्र न्यूरोडको सिद्धार्थबाट खरिद गरेका थिए । उक्त सुन पचाउन उनले नाटक रचेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनारसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।