डडेल्धुरा । भागेश्वर गाउँपालिका–४ डुङ्गरीदेखि अजयमेरु गाउँपालिकाको वडा नं. ५ देवल दिव्यपुर जोडने सडक खण्डको सेरागाडमा निर्माणाधीन पक्की मोटरेबल सडक पुल भत्किँएको छ ।

चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुका देखि परेको लगातारको वर्षाका कारण भत्किएको हो । डिभिजन सडक कार्यालय कुलपाते, दिपायलले पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा.लिसँग ठेक्का सम्झौता भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भ्याटसहित कूल ५ करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो। २०७४ साल भदौ २४ गते ठेक्का अवधि सकिएपछि २०७५ भदौ ९ गते सम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।

वर्षात्को समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीका कारण निर्माणाधीन पुल भत्किएको डिभिजन सडक कार्यालय डोटीका इन्जिनियर महानन्द जोशीले बताए ।

देशभरिमै ख्यातिप्राप्त निर्माण कम्पनी भएकाले केही क्षति भएपनि पुल निर्माणमा बाधा नपुग्ने उनले दावी गरेका छन् । बिकोई बिल्र्डस प्रा.लि. का सञ्चालक होमनाथ कोइराला सडक विभागकै पूर्व इन्जिनियर हुन ।

‘सानोेतिनो पानी परिरहेकाले क्षति नपुग्ने अनुमान गरेर काम गरिरहेका थियौं,’ निर्माण कम्पनीका साइड इन्चार्ज इन्जिनियर तीर्थ गुरुङले भने, ‘एक्कासी ठूलो पानी परेपछि बाढीका कारण निर्माणाधीन पुल भत्किएको हो ।’

गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी बर्षातको बेला खोलामा ढलान गर्ने र गराउने काम भएकाले चरम लापरवाहीका कारण पुल भत्किएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।

निर्माण सामग्रीको गुणस्तरको बारेमा आफूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

निर्माण कम्पनीले भने झण्डै एक करोड बराबर क्षति भएपनि अगामी मंसिरसम्म पुल निर्माण कार्य सक्नेगरी पुलको पुनर्निर्माण गरिने जनाएको छ । निर्माणाधीन पुलको क्षतिको विवरण भने तयार भएको छैन । ४० मिटर लम्बाई र ११ मिटर चौडा त्यो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।