काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीसँग भएको सहमतिको आधारमा संसद सचिवालयमा दर्ता भएको विधेयक अघि बढ्ने जानकारी गराए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीले उक्त विधेयकलाई कानुनको रुप दिनका लागि सहमतिको पक्षमा रहन निर्देशन दिएको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताए। प्रधानमन्त्रीले केसीको अनसन तोडिसकेको र सरकारले अव विधेयकलाई दैनिक कार्यसुचिमा राखेर अघि बढाइने सांसदहरुलाई जानकारी दिए।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै गुरुङले अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि वार्ता सफल हुनुको कारण र त्यसको मेहनतका बारेमा सांसदहरुलाई जानकारी गराएका थिए। विधेयकलाई छिटै कानुनको रुप दिने काममा लाग्न उनले सबै सांसदहरुलाई आग्रह पनि गरे।

डा केसीसँगको वार्तामा संलग्न भएका नेकपाका उपनेता सुवास नेम्वाङले वार्ता सफल हुनुका कारणबारे सांसदहरुलाई जानकारी गराए। कसरी सहमति भयो, के–के अप्ठारा आइपरे भन्ने विषयमा उपनेता नेम्वाङले जानकारी गराएको गुरुङले बताए।

अनसनको २७औँ दिनमा डा केसीसँग गएराति सरकारले सहमति गरेको थियो। प्रतिनिधिसभाको यससँगै आज बस्ने बैठकमा संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक पेश हुने सम्भावना बढेको छ।