काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्षले संविधान मिच्ने कुरालाई कहिल्यै पनि स्वीकार नगर्ने बताएका छन् ।
पार्टी मुख्यालय ललितपुरको सानेपामा शुक्रबार आयोजितपत्रकार सम्मेलनमा शर्माले नेपाल कम्युनिस्ट पार्टीले सभामुख र उपसभामुखमध्ये एक पद छाड्नै पर्ने बताए । ‘उहाँले पार्टीबाट सभामुख र उपसभामुखले राजीनामा दिइसकेको भन्नु हुन्छ’, शर्माले भने, ‘पार्टी छाड्ने व्यक्तिको सांसद पद नै रहँदैन । संविधान एक पल्ट पढ्न सुझाव दिन्छु ।’
प्रवक्ता शर्माले कांग्रेसले शुरु गरेको सडक आन्दोलनका कार्यक्रमहरू यथावत रहेको बताए । सरकारको अधिनायकवाद र महँगीविरुद्धको आन्दोलनलाई अझै शसक्त बनाइने उनले बताए । उनले साउन १५ गतेको एक दिने कार्यक्रमलाई कम्युनिस्ट सरकारलाई दवाव दिन केन्द्रित गर्ने बताए ।
डा.गोविन्द केसीका माग पूरा गरिदिएकोमा सरकारलाई उनले धन्यावाद दिए । ‘हामीले डा.गोविन्द केसीलाई समर्थन गरेको होइन । ऐक्यवद्धता जनाएका हौँ’, प्रवक्ता शर्माले भने, ‘कांग्रेसको सरकारका पालामा आएको माथेमा आयोगको प्रतिवेदन र अध्यादेशको संरक्षण परेको छ ।’ दैनिक नेपाल बाट










