माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखालीमा खुसी छाइरहेको बेला निकट भविष्यमा निर्माण हुन लागेको तामाकोशी -५ जलविद्युत आयोजनामा दोलखाबासीले कम्तिमा ४९ प्रतिशत सेयर पाउनुपर्ने दावी पेश गरेका छन् । दोलखाका जनप्रतिनिधिले एउटै स्वरमा ४९ प्रतिशत शेयर वन्दोवस्तको दावी पेश गरेका हुन ।

दोलखाको विकास निर्माणको विषयमा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दोलखाका जनप्रतिनिधिहरुले यस्तो माग राखेका हुन । भेटमा दोलखाली जनप्रतिनिधिले तामाकोसी ५ निर्माण गर्दा दोलखालीले कम्तीमा ४९ प्रतिशत सेयर पाउनुपर्ने, तामाकोशी ३ को क्षमता ६ सय ५० मेघावट घटाउन नहुने, दोलखामा निर्माण हुन लागेको फिल्म सिटीका लागि बजेट व्यवस्था गर्नुपर्ने, जिल्लाको उत्तर दक्षिण मार्ग लामबगर फलाक सडक अविलम्ब अगाडि बढाउनुपर्ने र दोलखा जिल्लालाई अर्गानिक जिल्लाको रुपमा विकास गर्नुपर्ने लगायतका माग राखेका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भेटमा दोलखाबाट प्रतिनिधिसभाका सदस्य पार्वत गुरुङ, शान्ति पाख्रिन, प्रदेशसभाका सदस्य विशाल खड्का, सरस्वती वस्नेत, जिल्ला समन्वय समितिका संयोजक डबल पाण्डे, नेकपा केन्द्रीय सदस्य देवी खड्का, नेपाली कांग्रेसका जिल्ला सभापति रुद्र्र खड्का, नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष लागायतको टोलीले आज प्रधानमन्त्रीलाई भेटेका हुन । भेटमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरका विषयमा पनि प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।