दमक/बिगतको कमीकमजोरीबाट पाठ सिकेको बताउदै गौरादह नगरपालिकाले चालु आर्थिक बर्षका लागि बिनियोजित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले गत बर्षको बजेट खर्च नगरेको भन्ने बिषयमा सत्यता नरहेको भन्दै नगरपालिकाले सकेको काम गरेको बताईएको थियो । शिक्षकको तलव र सामाजिक सुरक्षा भत्ता बढि आएकाले त्यो रकम फिर्ता गएको र नगरपालिकाको अन्य शिर्षकका बजेटहरु खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चालु आर्थिक वर्ष ०७५/०७६ का लागी पारित गरेको निति कार्यक्रम तथा वजेट आज सार्वजनिक गरेको छ । गौरादह नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी प्रवक्ता नगेन्द्र भण्डारीले निति कार्यक्रम तथा वजेट सार्वजनिक गर्नु भएको हो ।
त्यस अवसरमा नगरपालिका प्रमुख रोहित कुमार साहले पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिनु भएको थियो । गौरादह नगरलाई समृद्ध नगर बनाई विकासको गतिमा अगाडि बढाउन र नगरवासीहरुलाई छिटो छरितो र सहजरुपमा काम गर्ने वातावरण बनाउन नगरपालिका लागिपरेको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले आर्थिक कार्यविधी ऐन, सहकारी ऐन र संघसंस्था ऐन बहुमतले पारित गरेपनि गत वर्षको घाटा बजेटका कारण नगरपालिकाको विकास निर्माणमा अवरोध आइपर्ने भएकाले यस वर्ष यसकार्यमा विचार पु¥याईएको वताउनुभयो । गतवर्ष ८२ करोड ७ लाखको वजेट सार्वजनिक गरिएकोमा यस वर्ष करिव ८० करोडको बजेट दोश्रो नगरसभामा सार्वजनिक गरिएको थियो ।
निति कार्यक्रम तथा वजेटमा नगर भित्र रहेका खोलाका पुल सडक कालोपत्रका लागि केन्द्रिय सरकार संग माग गर्ने र नगरभित्र रहेका लामा दुरिका सडक स्तरोन्नती र ग्रावेल गर्नका लागि प्रदेश सरकार संग माग गर्ने जानकारी गराईएको थियो । नगरभित्र रहेका साना तथा ठुला दुरीका सडक, शिक्षणसंस्था, स्वास्थ्य, खानेपानी, विद्युत, सोलारवत्ती विस्तारका लागी नगरपालिकाले लगानी गर्ने जानकारी गराइएको थियो ।
नगरपालिकाले नगरको गरु आयोजनाको डिपिआर परामर्सदाता छनौट भई काम शुरु भइसकेकाले आगामी ४ वर्ष भित्रमा नगरको चक्रपथ तयार गर्ने नगर प्रमुख शाहले जानकारी दिनुभयो । नगरभित्र वसोवास गर्ने नागरिकहरुको अभिलेख तयार गर्न ६ महिना भित्रमा नगर प्रोफाइल तयार गरी मानव सुचांकका आधारमा आगामी ४ वर्ष भित्रमा लक्षित समुहलाई घरमा टिनको छानाको व्यवस्था गर्ने जानकारी गराइएको थियो । नगरपालिका भित्र सेवाग्राही लाई सहजरुपमा सेवा दिनु टोकन प्रणालीको व्यवस्था र कर्मचारीहरुका लागी ई–हाजिरी प्रणालीको व्यवस्था गर्ने जानकारी गराइएको थियो ।










