चितवन, साउन ११
डाक्टर गोबिन्द केसीले अनसन तोडेपछि प्रमुख बिपक्षी दल कांग्रेसले सभामुख र उपसभामुखको मुद्दा उचाल्दै सरकारसँग भिडने योजना बनाएको छ । हाल कुनै पनि दलको सदस्य नरहनु भएका सभामुख कृष्णबहादुर महरा र उपसभामुख डाक्टर शिवमाया तुम्वाहाम्फेलाई एउटै दलको भन्दै आफ्नो मुद्दा बनाएको हो ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने भन्दै अवको मुद्दा त्यसतर्फ सोझ्याउनु भएको हो । ‘सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले, यो नै हाम्रो मुख्य माग हो, त्यसबेलासम्म आन्दोलन जारी रहन्छ,’ पत्रकारसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो ।
डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उहाँले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो । केसीको माग पूरा गराउन विपक्षी दल काँग्रेसले पनि सहयोग गरेको उहाँको भनाइ थियो । डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैँडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न यहाँ आउनुभएका देउवाले तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाउनुभयो ।
यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साउन १५ गते गरिने आन्दोलन सरकारको विरोधस्वरुपको टोकन भएको बताउनुभयो । देशमा महँगी बढेको, जथाभावी कर लगाइएको, भ्रष्टाचार बढेको, सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उहाँले आरोप लगाउनुभयो । फरक प्रसंगमा उहाँले अब हुने महासमिति बैठकले पार्टीभित्रको विवाद सल्टाउने बताउनुभयो ।










