काठमाडौं । बलाधिकृत पूर्णचन्द्र थापालाई सरकारले कायममुकायम प्रधानसेनापतिमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई कामु प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल भदौ २४ गते सकिँदैछ । प्रधानसेनापति अवकाश हुनुभन्दा एक महिनाअघि घर विदामा बस्ने प्रचनल छ । सोही प्रचलन अनुसार प्रधानसेनापति राजेन्द्र क्षत्री साउन २४ गतेदेखि विदामा बस्नेछन् ।
कामु प्रधानसेनापति थापाले साउन २५ गतेदेखि सैन्य मुख्यालयको जिम्मेवारी सम्हाल्नेछन् । थापाको स्थानमा युद्ध कार्य महानिर्देशक प्रमुख उपरथी हेमन्त कुँवर रहेका छन् । कुँवरको ठाउँमा सहायक रथी झंकरबहादुर कडायत बढुवा हुनेछन् । यसबारे मन्त्रिपरिषद्ले निर्णय लिनेछ ।
को हुन् थापा ?
लमजुङ जिल्लाको पाखाथोकमा जन्मिएका थापा २०३७ सालमा सहायक सेनानीमा भर्ना भएका थिए । थापाको पल्टन गोरखबहादुर गण हो । नेपाली सेनामा आफूलाई अब्बल र क्षमतावान साबित गरिसकेका थापालाई सेनाभित्र उच्च व्यावसायिक सैनिक अधिकारीका रूपमा समेत चिनिन्छ ।
सेनाका २ रथीमध्ये थापा सिनियर हुन् । उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए । २ वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो ।
रथी पूर्णचन्द्र थापा सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डरजस्तो पद पाउने थोरै अधिकृतमध्ये पर्छन् । यसअघि फोर्स कमाण्डरका रुपमा सेनाबाट वालानन्द शर्मा, पवनजंग थापा, कृष्ण नारायण सिंह थापा र भिक्ट्री राणाले काम गरिसकेका छन् । २०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए ।
सेनामा मध्यमतहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज नेपालबाटै गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन् । रथी थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, नं. २ वाहिनीको वाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरीसकेका छन् ।
यसवाहेक उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत, सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिंग स्टाप, सेनाको महत्वपूर्ण नियुक्ती मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक र कार्यरथी तथा संभाररथी विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् ।
रथी थापाले संयुक्त राष्ट्र संघमा पटक–पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका छन् । थापाले सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिन्जेन्टमा से.मु.पति, सन् १९८९ मा युनिफिल मिसन हे.क्वा.मा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए । त्यसैगरी, उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्नीया, हर्जगोभिनिया र क्रोयशिया) मिशनमा सफल भूमिका निर्वाह गरेका थिए ।
संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व गरी युनाईटेड नेशन्स् मिशन ईन नेपाल (जेएमसिसी) अन्तर्रगत संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा पनि काम गरेका थिए ।
रथी थापा सुप्रवल जनसेवाश्री तेश्रो, गोरखा दक्षिणबाहु तेश्रो र त्रिशक्ती पट्ट चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभुषित भइसकेका छन् । रथी थापा हाल बलाधिकृत विभागमा कार्यरत रहेका छन् ।
कायममुकायम प्रधानसेनापतिमा सिफारिस थापाका बाबु फणेन्द्रबहादुर थापाले प्रमुख सेनानीबाट अवकाश पाएका थिए । उनका दाजु रोहित थापाले पनि सशस्त्र प्रहरीको एआईजीबाट अवकाश पाएका थिए ।
थापा नेतृत्व ‘ट्रयाक’का एकल धावक
जंगी अड्डाको दोस्रो बरीयतामा रहेका बलाधिकृत रथी (लेफ्टनेन्ट जनरल) बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा नेतृत्व ‘ट्रयाक’का एकल धावक बनेका हुन् । महतले २०७४ कात्तिक १६ देखि ५८ वर्ष उमेर हदले अनिवार्य अवकाश पाएपछि तेस्रो बरियतामा रहेका थापा दोस्रो बरियतामा उक्लिएका हुन् ।
सामान्य अवस्था र उमेर रहँदासम्म यो पदावधि थप्ने प्रचलनअनुरूप नै थापाको म्याद थप भएको थियो । महत र थापा दुवैको दोस्रोपटक म्याद थप भएको भए पनि महत उमेर हदले सेवानिवृत्त भएपछि थापा प्रधानसेनापति दौडमा एकल देखिएका थिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्व सरकारकै पालामा रथी थापाको प्रधानसेनापति बन्ने बाटो स्पष्ट भएको थियो । उनको पदावधि ०७४ असोजमा सकिने थियो । तर, उमेर बाँकी रहेकाले दाहाल नेतृत्व सरकारले एकवर्षे पदावधि थप गरेर नै उनलाई भावी प्रधानसेनापतिका लागि अघि बढाएको थियो ।
उनीसँगै बलाधिकृत महतको पनि पदावधि थपिए पनि ५८ वर्ष उमेरका कारण उनी सेवानिवृत्त भएका हुन् । उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा रहेकाले नै यसरी म्याद थप हुने गर्छ । नेपाली पत्र बाट साभार










