काठमाडौं : आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने महाशाखाको भनाई छ ।

पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। आइतबार दिउँसो र रातको दुवै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असार १४ गते देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै नदीमा बहाब खतरा भन्दामाथि रहनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

देशका प्रमुख नदी कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबई लगायतका नदीमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको हो।

कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतरा भन्दामाथि रहने सम्भावना नरहे पनि आइतबार बिहानसम्म कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

रासस