काठमाडौँः कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी बालिकाबारे सांसदहरुले प्रतिनिधि सभाको बैठकमा सरकारको आलोचना गर्दै प्रश्न उठाएका छन् ।

साउन १० गते बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तबारे सांसदहरुले प्रतिनिधिसभाको बैठकको शून्य समयमा कडा आलोचना गरेका हुन् । बालिकाको बलात्कारपछि हत्या गरिएको भनिएको घटनास्थलमा रहेका उनका लुगा नियतवश प्रमाण मास्ने उद्धेश्यले नष्ट गर्न खोजिएको आरोप राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरीले लगाएकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'बालिकाको हत्या भएको स्थानमा भेटिएको सुरुवालसहितका लुगा तत्कालै पानीमा पखालेर प्रमाण नष्ट गर्ने काम भएको छु, उनले भनिन्, 'प्रहरी अधिकारीकै अगाडि गरिएको त्यस्तो काम प्रमाण नष्ट गर्ने उद्धेश्यले भएको हो ।'

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले पनि बालिका हत्या प्रकरणबारे सरकारको भूमिकालाई लिएर कडा आलोचना गरिन् । उनले बालिकाको ज्यान लिनेमाथि कारबाही माग गर्दै सडकमा उत्रिएका सर्वसाधरणलाई सरकारले प्रहरी लगाएर दमन गरेको आरोप पनि उनले लगाएकी छन् ।

सांसदहरुले किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कारवाही गरिनुपर्नेमा जोड दिए ।

दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन् । केही दिन पहिले १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा फेला परेको थियो ।

सांसद डिला संग्रौला, तेजुलाल चौधरी र दीपकप्रसाद भट्टले तत्काल दोषीलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा महिला र बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्न आग्रह गरे ।

सांसद नीरुदेवी पालले पनि तीन दिन पहिले बलात्कार गरी हत्या गरिएकी पन्त परिवारलाई क्षतिपूर्ति दिन र पीडकलाई सर्वस्वसहित कडा कारवाही गर्न माग गरिन् । सांसद दिलेन्द्रप्रसाद बडुले अभियुक्तलाई अझै कारवाही हुन नसकेकामा आपत्ति जनाउँदै शीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरे। सांसद प्रमिला राईले महिला एवम् बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गरे ।

घटनाको राजनीतिक दल, संघसंस्था एवं सामाजिक सञ्जालमा चर्को विरोध भइरहेका बेला प्रतिनिधि सभाका सदस्यहरुले पनि यसलाई चर्कोरुपमा उठाएका हुन् । प्रहरीले दोषी पत्ता लगाउन छाडेर सर्वसाधरणलाई लाठी बर्साउन थालेको बताउँदै उनीहरुले गम्भीरतापूर्वक अनुसन्धान थाल्न सरकारको ध्यानकर्षण गराएका हुन् । अन्नपूर्ण पोस्ट बाट