१५ औँ पटक २७ दिन अनसन बसेर सरकारसँग सहमति गरेपछि तोडेका प्राध्यापक डाक्टर गोविन्द केसीका विषयमा संसदमै कुरा उठेको छ । उनलाई संसदमै हत्याराको आरोप लागेको छ । चिकित्सा शिक्षा विधेयकबारे आइतवार भएको छलफलमा सहभागी हुँदै नेपाल कम्युनिस्ट पार्टीकी सांसद गंगादेवी चौधरीले केसीलाई हत्याराको संज्ञा दिएकी हुन् ।
‘गोविन्द केसी हत्यारा हुन्, उनका कारण कयौँ विरामीको ज्यान गएको छ’, उनले भनिन्, ‘उनको अनशनका कारण डाक्टरले काम नगर्न त्रिवि शिक्षण अस्पतालमा उपचार नपाएर दाङका गोविन्दप्रसाद चौधरीसहितका कयौँ विरामीको ज्यान गएको छ ।’
सांसद चौधरीले संसदमै केसीमाथि गम्भीर आरोप लगाइरहँदा सत्तारुढ सांसदहरुले टेबल ठोकेका थिए भने कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
‘देश संघीयतामा गइसकेका बेलामा प्रदेश सरकारले मेडिकल कलेज खोल्ने नखोल्ने निर्णय गर्ने कि अरुले ?’, उनले भनिन्, ‘जहाँ खोल्न सकिन्छ खोल्नुपर्छ । प्रदेश सरकारले निर्णय गर्ने हो मेडिकल कलेज खोल्ने केन्द्र सरकार या अरु कसैले मनपरी गर्न पाउँदैन ।
त्यसैगरी नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भने केसीमाथि सत्तारुढले अहिले पनि हत्याराको आरोप लगाइरहेकाले उनीसँग भएका सम्झौता कार्यान्वय हुनेमा प्रश्न पठाए ।टिभी अन्नपूर्ण बाट साभार










