१३ साउन – कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्यापछि सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेकोे छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले दोषीलाई कारवाहीको माग गरे । तर सत्ता पक्षका सांसदहरुले कांग्रेसले बलात्कृत बालिकाको लाशमाथि कांग्रेसले राजनीति गरेको आरोप लगाए ।
बलात्कृत बालिकाको लाश उठाउन नदिएको भन्दै लासमाथि राजनीति भइरहेको सत्तापक्षका सांसदहरुले कांग्रेसमाथि आरोप लगाए । प्रतिनिधि सभाको शून्य समयमा बोल्ने डिला संग्रौलाले हत्यारामाथि कारवाही हुनु पर्ने माग गरिन् । यसैगरी कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडुले पनि कारवाहीको माग गरेका छन् ।
अर्कोका सांसद दिपप्रकाश भट्टले बलात्कृतको लाशमाथि राजनीति भइरहेको बताउँदै लाश परिवारजनलाई बुझन नदिइएको भन्दै कांग्रेसको आलोचना गरे ।
निरुदेवी पालले लाशमाथि राजनीति भइरहको भन्दै पीडितलाई कारवाहीको माग गरिन् । प्रमिला राईले महिलाहरुमाथि हिंसा बलात्कार बढी रहेको बताउँदै दोषीलाई कारवाही र पीडितलाई क्षतिपुर्तीको माग गरिन् ।
विशेष समयमा बोल्दै कांग्रेस सांसद भरत शाहले निर्मला पंतको लाशमाथि कांग्रेसले राजनीति नगरेको बताए । उनले कांग्रेसले लाशमाथि राजनीति गन नजानेको भन्दै दोषीमाथि कारवाहीको माग गरे ।
बलात्कारीलाई मृत्युदण्ड
कांग्रेसकी एक सांसदले संसदमा मृत्युदण्ड दिने कानून बनाउन माग गरेकी छिन् । तर, नेपालको संविधानमा मृत्युदण्डको कानून बनाउन नपाइने उल्लेख छ ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले बलात्कारीलाई कारवाहीका लागि मृत्युदण्डको कानून आवश्यक भएको बताएकी हुन् । यद्यपि संविधानको धारा १६ को उपधारा २ मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने उल्लेख छ ।
‘७७ वर्षकी वृद्धादेखि साढे २ वर्षीया बालिका समेत बलात्कारको शिकार बनेका छन्,’ उनले भनिन्, ‘बलात्कारीलाई हदैसम्मको कारवाही गर्नुपर्छ । आज भारतमा पनि मृत्युदण्डको व्यवस्था छ, अमेरिकामा पनि मृत्युदण्डको व्यवस्था छ । कानून संशोधन गरेर, निर्माण गरेर मृत्युदण्डसम्मको कारवाही गर्नुपर्छ बलात्कारीलाई भन्ने जोडदार ढंगले माग गर्न चाहान्छु ।’
उनले कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाले दोषीमाथि कडा कारवाही गर्न माग गरिन् । बलात्कार भएपछि जनता आन्दोलित भएको र जनतामाथि लाठी बर्साएको उनले आरोप लगाइन् ।
कांग्रेसकै सांसद शाहले पनि बलात्कारका अपराधीलाई नेपालको कानूनले दिएको ठूलोभन्दा ठूलो कारवाहीको माग गरे । ‘भारतमा यस्ता केसमा मृत्युदण्डको प्रावधान छ । सरकारले अपराधीलाई कारवाही गर्न ढिलो नगरोस्,’ उनले भने ।










