सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानुनको निर्माणमा सरकार लागेको बताएका छन्। नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०७४ बाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झालाई आइतबार सम्मान गर्दै उनले यस्तो बताएका हुन् । झालाई ३३ हजार तीन सय ३३ राशीसहित सम्मान गरिएको हो।

साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माण लगायतका काम अघि बढेको बताएका हुन्। डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका साथै सामुदायिक र व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापनालगायत काम पनि हुँदै गरेको उनले बताए। उनले सञ्चारमाध्यम आलोचक हुनुपर्ने सुझाव पनि दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पत्रकारिताको खास मानक हुने बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने उल्लेख गरे। ‘वर्तमान सरकार मदन भण्डारीले दीक्षित गरेको सरकार हो, यो लोकतन्त्र र बहुदलीयताका लागि प्रतिबद्ध छ’, उनले भने।

झाले पत्रकारिताको विश्वसनीयता लगायतका विषयमा प्रश्न उठेको बताउँदै पत्रकारितालाई समाजले नियमन गर्नेमा जोड दिए। संघका अध्यक्ष विश्वशंकर पलिखेले पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि अक्षयकोष स्थापना गरिएको जानकारी दिए।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मुलुकको समृद्धिको यात्रामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राखे। गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रलाई बलियो सदैव पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए। रासस