१३ साउन । सरकारले खुलाएको शिक्षक सेवा आयोगमा निवेदन दिनेको संख्या ह्वातै बढेको छ । शिक्षक सेवा आयोग आह्वान गरेको झण्डै १३ हजारको कोटामा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । आयोगले झण्डै छ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो ।
आयोगले संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रतिशत आन्तरिक पदपूर्तिको परीक्षा गत असार अन्तिम साता लिइसकेको छ भने बाँकी २५ प्रतिशतको खुल्लातर्फ आवेदन गर्न साउन पहिलो सातासम्म समय दिएको छ ।
सरकारले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७३९ दरबन्दीमा पदपूर्तिका लागि आवेदन माग गरेको हो । यस पटक आवेदकको संख्या ह्वातै बढेको जानकारी दिंदै आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलिया भन्छन्, ‘अहिलेसम्म २ लाख २५ हजार बढीले आवेदन दिइसकेका छन् ।’
‘विद्यमान कानुनी संरचनाका आधारमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक शिक्षकका लागि विज्ञापन गरिएको हो,’ उत्साहजनक सहभागिता देखिएको छ’, उनले थपे, ‘प्राथमिक तहको हकमा छ वर्षपछि र निमावि तथा माविको तीन वर्षपछि खुल्ला विज्ञापन गरिएको हो ।’ आयोग अन्तर्गत १ लाख ७ हजार शिक्षक दरबन्दी रहेको छ ।
आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ । त्यसैगरी निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । शिक्षा शास्त्र विषय पढेर शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न पाउँछन् । आयोगको तथ्यांकअनुसार कार्यरतसहित सात लाख जनाले लाइसेन्स प्राप्त गरेका छन् ।
आयोगले अस्थायी शिक्षकलाई आन्तरिक खुल्ला पदपूर्ति गर्नका लागि परीक्षा गत असार २९ र ३० गते लिएको थियो । उक्त परीक्षा चार पटकसम्म रोकिएको थियो । करिब २५ हजार रिक्त दरबन्दी मध्ये २२ हजार ७६ शिक्षकले परीक्षा दिएका छन् । धेरैपटक परीक्षा स्थगित भएकाले सबै तहमा परीक्षार्थी संख्या पुग्न नसकेको आयोगले जनाएको छ ।
‘पद रिक्त भए पनि माग अनुसारको प्रतिष्पर्धीको आवेदन परेन,’ आयोगका प्रशासकीय प्रमुख थपलियाले भने, ‘हामीले तिनै कोटासमेत खुल्लामा परिणत गरेका छौं ।’ ‘अबको एक वर्ष्भित्र कुनै पनि अस्थायी शिक्षक रहने छैनन्,’ थपलियाले भने, ‘कार्यतालिकाअनुसार फागुन–चैतमा विज्ञापन हुनेछ । हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरिने छ । वार्षिक तीन हजार जनाको रिक्त पदपूर्ति हुनेछ ।’ शिक्षकको परीक्षा प्राथमिक तहमा कुनै विषय नतोकिने र निमाविदेखि विषय तोकेर परीक्षा लिइने भएकाले समस्या नआउने उनको दावी छ ।










