काठमाडौं, १३ साउन । पहिलोपटक प्रधानमन्त्री हुने बेला केपी ओलीले लालबाबु पण्डितलाई सामान्य प्रशासनमन्त्री बनाएका थिए । त्यसबेला निजामती कर्मचारीको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै उनले वाहीवाही कमाएका थिए । खासगरी पिआर र ग्रिनकाडीधारी कर्मचारीलाई कारबाही गर्ने उनको प्रयासले धेरै चर्चा कमायो ।

त्यसबेला उनले गरेको कामकै कारण मोरङ ६ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालालाई समेत पण्डितले निर्वाचनमा पराजित गरे । कतिसम्म उनलाई जिताउन भन्दै देशविदेशबाट पैसा ओइरियो । त्यसबेला करिब ५० लाख रुपैयाँ संकलन भएको बताइन्छ । निर्वाचनबाट विजयी भएलगत्तै प्रधानमन्त्री केपी ओलीले पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री बनाए । धेरैले उनलाई सामान्य प्रशासन मन्त्रीकै रूपमा देख्न चाहेका थिए । करिब दुई महिनापछि प्रधानमन्त्री ओलीले पण्डितलाई सामान्य प्रशासनमन्त्री बनाए । दोस्रो पटक सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मन्त्री पण्डित र निजामती कर्मचारीबीच लफडा सुरु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसपटक किन हो मन्त्री पण्डित निजामती कर्मचारीविरुद्ध निकै कडा र तल्लोस्तरसम्म ओर्लिए । जसका कारण उनी निकै विवादमा परे । मन्त्री भएको डेढ महिनापछि नै प्रधानमन्त्री ओलीले ‘निजामती कर्मचारीलाई नचलाउनूस्, नत्र मन्त्री पदबाट बर्खास्त गरिदिन्छु’ भन्ने चेतावनी दिएपछि उनी अहिले कहीँकतै देखिएका छैनन् । पण्डित नेपाल कम्युनिस्ट पार्टीमा माधवकुमार नेपाल निकट नेता हुन् ।

युवा मन्त्रीको रूपमा चित्रित गरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग प्रधानमन्त्री सुरुदेखि नै असन्तुष्ट रहँदै आएका छन् । यातायात व्यवसायीसँग मन्त्री महासेठले ठूलै रकम बार्गेनिङ गरी हात पारेको सूचना प्रधानमन्त्री कार्यालयमा पुगेकाले उनको मन्त्री पद असुरक्षित रहेको बताइन्छ । मन्त्री महासेठलाई प्रधानमन्त्री ओलीले पटक–पटक कार्य प्रगति माग्न थालेपछि अहिले उनी आफैं फिल्डमा उत्रन थालेका छन् ।

स्रोतका अनुसार अर्बपति व्यापारी डा.उपेन्द्र महतोका बहिनी ज्वाइँ नभएको भए र वामदेव गौतमका प्रिय पात्र नभएका भए महासेठ धेरै पहिले बर्खास्तीमा पर्थे । प्रधानमन्त्री ओलीले सम्भवतः केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । त्यसबेला केही मन्त्रीको जिम्मेवारी हेरफेर हुन सक्नेछ । कानुनमन्त्री नियुक्त गर्नेबेलामै यो काम हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्तिबहादुर बस्ने, महिला बालबालिका मन्त्री थममाया थापामगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, कृषि मन्त्री चक्रपाणि खानाल, खानेपानी मन्त्री विना मगर र सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको कामकारबाहीसँग सन्तुष्ट नरहेको समाचार सार्वजनिक भइसकेको छ ।