सागरराज तिमिल्सिना

दुर्घटनामा बुवा गुमाएको पीडा त छदै थियो त्यसमाथि किरिया बस्न खोज्दा नपाउँदा पोखरामा एक छोरी दुखित बनेकी छन्।

पोखरा ६ लेकसाइडका मधुकर सुवेदीको शुक्रबार कार दुर्घटनामा परी मृत्यु भयो। उनको शनिबार दाहसंस्कार गरियो। १६ वर्षीया छोरी ममता सुवेदीले उनलाई दागबत्ती दिइन्। तर किरिया बस्न भने रोक लगाइयो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफू किरिया बस्ने बताए पनि आफन्तहरूले नै उनलाई रोके। मधुको किरिया उनका भाइ हरि सुवेदीले गरेका छन्। काका र भतिजीलेसँगै किरिया गर्न नमिल्ने भन्दै आफन्तले ममतालाई किरिया गर्न रोकेका हुन्।

तर मानवअधिकारकर्मीहरूले भने महिलाको अस्तित्व स्वीकार नगरिएको आरोप लगाएका छन्। मृतक मधुकरका दाजु खेमराज सुवेदी आफूहरूको संस्कारमा काका र भतिजीले सँगै किरिया गर्ने परम्परा नरहेको बताए । छोरीले किरिया गर्ने कुराको आफूले विरोध नगर्ने भन्दै उनले छुट्टै किरिया बस्न आग्रह गरे।

छोरी किरिया बसे आफूहरूले छोड्ने आफन्तको प्रतिक्रियापछि ममताले किरिया गरेकी छैनन्। किरियाकर्ममा सहयोगी पण्डित नन्दराम अधिकारीले पनि शास्त्रमा छोरीले किरिया बस्न नहुने उल्लेख नभएको भन्दै बाबुछोरी भने सँगै बस्न नहुने बताए।