काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।
सोमबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन । यो सरकार दुई तिहाईको हो । संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं । हामी अहिले पर्ख र हेरको अवस्थामा छौं ।’
‘हामी सरकारको रवैया र व्यवहार हेरेर अघि बढ्छौं । सरकार जसरी अघि बढ्छ, हामी पनि त्यसैगरि अगाडि बढ्छौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समय आएपछि योजना बन्ला । तर अहिले हाम्रो कुनै योजना छैन ’महतोले भने ।
उनले राजपा सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे । उनले भने,‘हामी सरकारमा जाने कुनै सम्भावना छैन ।’ सरकारले संविधान संशोधन गर्छ भन्नेमा आफूहरु पूर्ण रुपमा आशावादी भएकोले यदि संशोधन नगरे त्यसपछि आफूहरुले दबाई गर्न जानेको उनले बताए । महतोले थपे,‘अहिले नै दबाई गर्ने बेला भएको छैन ।’
पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिनेपनि उनले विश्वास दिलाए । उनले भने,‘हामी सहमतिमै महाधिवेशन सम्पन्न र्छौं । पार्टीको नेतृत्व र संगठनात्मक संरचनापनि सहमतिमै टुँगो लगाउँछौं ।’ पार्टीको नेतृत्वका लागि प्रतिष्पर्धा नहुने उनको ठोकुवा छ । उनले भने,‘पार्टीको नेतृत्व हामी सहमतिमै टुँगो लगाउँछौं । कुनै प्रतिष्पर्धा हुँदैन । अध्यक्ष मण्डल रहने वा नरहने भन्ने कुरापनि हामी सहमतिबाटै टुँगो लगाउँछौं । पार्टीको निर्णय सामूहिक प्रक्रियाबाट अगाडि बढाउँछौं ।’
फरक प्रशंगमा उनले राजपा र फोरमबीचको एकताको पनि अहिले कुनै सम्भावना नरहेको बताए । भने,‘उपेन्द्र यादवजी सरकारमा हुनुहुन्छ, हामी सडकमा छौं । अनि कसरी एकता हुन्छ ? एकताका लागि त उपेन्द्रजी हामी बसेको ठाउँमा आउनुपर्छ । ’ यद्धपी उनले प्रदेश नम्बर २ को सरकारमा राजपा र फोरमको गठबन्धन भने कायमै रहने विश्वास दिलाए । उनले भने,‘५ वर्षमात्रै होईन, १० वर्षसम्म रहन्छ ।’ रातो पाटि बाट साभार










