लिन पोखरेल, राजविराज । करिब डेढ महिना अघि सप्तरीको राजविराज नगरपालिका–१५ मुसहर्नियाकी गर्भवती महिलाको हत्याको विषयमा खोजी गर्दै जाँदा सम्पर्क बाहिर रहेका पति र छोरीको समेत हत्या भएको रहस्य खुलेको छ ।

गत असार १ गते १७ वर्षीया वेचन कुमारी साहको शव घर छेउमै रहेको ट्वाइलेटको रिङ्गमा फालिएको अवस्थामा फेला परेको थियो । शव भेटिएको करिब पाँच–छ दिनअघि नै हत्या गरी फालिएको हुनसक्ने अनुमान गरिएको थियो । चार महिनाकी गर्भवति महिला बेचनीको शव कुहिएर दुर्गन्ध फैलिएपछि घटनाबारे खुलासा भएको थियो । मृतकका ३५ वर्षीय पति सुरज कुमार साह र डेढ वर्षीया छोरी प्रतिमा साह सम्पर्क बाहिर रहेका थिए । मृतक महिलाकी माइती पक्षले भने परिवारजनको मिलोमतोमा पति सुरजले नै हत्या गरी फरार भएको भनी आशंका गर्दै आएका थिए । यद्यपी सप्तरी प्रहरीले खोज अनुसन्धान गर्दै जाँदा महिलाका पति र छोरीको समेत हत्या भएको तथ्य फेला पारेको छ ।

बाहिरबाट किलर मँगाएर सुरज र छोरीको हत्या गरी मुसहर्नियाँ स्थित खाँडो नदीको पुलमुनि गाडिएको रहस्य खुलेको छ । दुवै जनाको हत्या पश्चात घरमा रहेकी गर्भवती महिलाको समेत हत्या गरी घर छेउमै रहेको प्रयोगमा नआएको शौचालयको रिङ्गमा फालिदिएको हुनसक्ने अनुमान गरिएको छ । । घटनामा संलग्न रहेको आशंकामा मृतक सुरजको परिवारका केही सदस्यहरुलाई पक्राउ गरि सप्तरी प्रहरीले अनुसन्धान गर्दै आएको छ । अनुसन्धानका क्रममा हत्याबारे रहस्य खुलेपछि प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको नेतृत्वमा प्रहरी नायव उपरीक्षक भावेश रिमाल समेतको टोली शव गाडिएको स्थल पुगेका थिए । यद्यपी नहरमा पानी अत्यधिक रहेकोले भित्र पस्न सक्ने अवस्था नरहेकोले टोली राजविराज फर्किएका छन् । नहरको पानी बन्द गराउँदा पनि पुल मुनि पानी अत्यधिक रहनुका साथै तल अँध्यारो रहेकोले शव खोजी कार्य प्रभावित भएकोले मङ्गलवार बिहानैदेखि पुनः टोली खटिने प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हत्याको घटनामा संलग्न रहेको आशंकामा को–को पक्राउ परे भन्नेबारे जिज्ञासा राख्दा प्रहरी उपरीक्षक सिंहले भने ‘पक्राउ परेका व्यक्तिहरुको विषयमा अहिले तत्काल केही भन्न मिल्दैन, घटनाबारे थप कुरा मङ्गलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नेछौं ।