काठमाडौं । एमाले र माओवादीको एकीकरणपछि कम्युनिष्ट कार्यकर्तामा उत्साह छ । एकतापछि युवा कार्यकर्ता अझ धेरै उत्साहित भएका थिए । तर, ठूला नेताको पदमोहका कारण नेकपाका युवाहरुको भविष्य भने अन्धकार देखिएको छ । नेकपाको बिधानबाट उमेरहद हटाउन लागिएको छ । जसको प्रत्यक्ष असर नेकपाको राजनीतिमा लागेको युवावर्गमा पर्नेछ ।
विगतमा एमालेले ७० वर्षे उमेरहदको प्रावधान थियो । यसले युवा नेताको पार्टीमा प्रतिनिधित्व बढाउँदै लगेको थियो । तर, केही नेताको स्वार्थमा उमेरहद हटाउन लागिएको छ । यसको आरोप वाम एकताका सूत्रधार नेता बामदेव गौतममाथि लागेको छ । ७० वर्ष पुग्न लागेका गौतमलगायतका नेताका कारण उमेरहद हटाउन लागिएको हो ।
अर्काेतर्फ उनै गौतम यतिबेला चुनाव लड्न लागेको चर्चा चलेको छ । हाल पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाएर गौतम त्यहाँबाट चुनाव लड्ने चर्चा छ । तर, डोल्पामा चुनाव जितिनेमा भने उनी ढुक्क छैनन् ।
स्रोतका अनुसार उनी आफ्नो पुरानो चुनावी क्षेत्र प्यूठानबाटै चुनाव लड्न चाहन्छन् । त्यसका लागि वाम गठबन्धनकी उम्मेदवारकी रुपमा प्यूठानबाट चुनाव जितेकी दुर्गा पौडेललाई राजिनामा दिन लगाउने प्रयाससमेत भइरहेको छ । डेढ वर्षपछि राष्ट्रियसभाको निर्वाचनमार्फत पौडेललाई राष्ट्रियसभामा ल्याउने र उनलाई मन्त्री बनाउने आश्वासन दिएर राजिनामा गराउने प्रयाससमेत भइरहेको छ । तर, पौडेलले निर्णय दिइसकेकी छैनन् ।
गौतमलाई शक्तिशाली प्राधिकरण बनाएर त्यसको उपाध्यक्ष नियुक्ति गर्ने तयारी समेत प्रधानमन्त्री कार्यालयले गरेको थियो । तर, त्यो प्रस्ताव पनि रोकिएपछि गौतमलाई सांसद बनाउने प्रसाय अघि बढेको हो ।










