सागरराज तिमिल्सिना

पोखरा, साउन १५ / शनिबारदेखि बेपत्ता भएका पोखराका एक व्यवसायीको स्कुटर पोखरास्थित सेती नदी पुल छेउमा स्कुटर भेटिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पोखरा सभागृह नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भएको भोलिपल्ट उनको स्कुटर पुल छेउमा भेटिएको हो।

शनिबार राति करिब साढे ८ बजे पुलको छेउमै स्कुटर रोकेर पुलमा गएर उभिएको एक स्थानीयले देखेको बताएपछि प्रहरीले खोजी थालेको थियो। प्रहरीले अनुसन्धान गर्ने क्रममा डुब्लिकेट चाबी मगाएर पुलनजिकै रोकी राखिएको स्कुटरको डिक्की खोलेर र्हेयो, त्यहाँ ढुंगनाले लेखेको नोट भेटियो ।

नोटमा उनले ऋणको ब्याज तिर्न नसकेर आफूले यो कदम चाल्नुपरेको लेखेका थिए। स्कुटरमा सुसाइड नोट भेटिनु, एक स्थानीयले पुलमा उभिएको देख्नु, छिनमै हराउनु र पुलको तल ठाउँमा हेर्दा घाँस माडारिएको देखिनुले सेती नदीमै हाम फालेको हुनसक्ने वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर दीपकबहादुर केसीले बताए ।

सेती नदीमा हाम फालेको अनुमान गरिए पनि एकिन नभएकाले अनुसन्धान तथा खोजी भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

मिटर ब्याजी साहुका कारण जीवन असहज

ढुंगानाले मिटर ब्याजी साहुका कारण जीवन असहज भएको भन्दै साहुहरूकै नाम किटेर सुसाइड नोट छाडेका छन्। उनले पत्रमा सुरूमा श्रीमती अनिता, त्यसपछि ससुराली दाजुभाइलाई सम्बोधन गर्दै अन्तिममा आफूले यो कदम उठाउनुपरेको कारण खोतलेका छन्।

कास्की धिताल घर भएका ढुंगानाका श्रीमती, छोरी र एक महिनाको छोरो छ । उनले परिवारका लागि लेखेको नोटमा बाहिरी मानिसको व्यवसायिक टर्चरले घर छोडेर हिँड्न बाध्य भएको उल्लेख गरेका छन्।

आर्थिक समस्यामा परेको लेख्दै उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याजी साहुका कारण आफूजस्ता धेरैको जीवन असहज बन्दै गइरहेको सुसाइड नोटको अन्तिम वाक्यमा लेखेका छन् । तर उनीहरू कहाँका हुन् कति रकम हो खुलाएका छैनन् ।

उनले १०० कडा ५०, ६०, ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएका उल्लेख गरेका छन् । ‘यिनीहरू जस्ताले गर्दा मेरो यो हालत भयो । कोही कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी यी सबैले मबाट डबल त्रिबल गरी असुल उपर गरिसकेका छन् । दुई तीन गुणा असुली गर्नेहरूले गर्दा नै समाजमा म जस्ता धेरैको जीवन असहज बन्दै गइरहेको छ ,’ उनले पत्रमा उल्लेख गरेका छन्।

श्रीमती, छोरा, छोरी हेर्न ससुराली दाजुभाइलाई आग्रह

ढुंगानाले श्रीमती अनिता कुमारी बाँस्तोलालाई प्यारी श्रीमती भन्दै दुई वाक्य लेखेका छन् ।

‘मैले त संघर्ष गर्न सकिनँ तर तिमीमा त्यो क्षमता देखेको छु । अब बाँकी जीवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्ती प्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु माफ गरिदेऊ। मैले तिमीलाई कहिल्यै सुख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दछु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु । उही तिमीलाई दुःखी बनाउने फरिन्द्र ढुंगाना अलबिदा,’ लेखेका छन् ।

मिटर ब्याजी अनुसन्धानको घेरामा

ढुंगानाले नोटमा उल्लेख गरेका मिटर ब्याजमा लगाउने माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे अनुन्धानको घेरामा रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताएका छन् । उनले दुबैको खोजी भएको र पक्राउ गरि कार्बाही गर्ने बताए । कास्की प्रहरी केही समय पहिले १० जनालाई मिटर ब्याजमा संलग्न रहेकोमा पक्राउ गरी कार्बाही सञ्चालान गरिरहेको बताए । उनले मिटर ब्याज लिने र दिने दुवैको उजुरी भने प्रहरीमा नआउने गरेको बताए । मिटर ब्याज अवैधानिक भएकाले लगाउनु र लिनु दुवै दोषी भएको उनको भनाइ छ।