काठमाडौं– सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसामू गम्भिर चुनौति रहेको बताएका छन् । पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्धलाई सुदृढ नबनाए क्रान्तिका उपलब्धि गुम्न सक्ने खतरा औंल्याउँदै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले सरकारमाथि चौतर्फी घेराबन्दी सुरु गर्ने काम प्रतिक्रान्तिकारीहरुले गरिरहेको दावी गर्दै त्यसलाई प्रतिवाद गरेर जान ‘आँखा तिखो र कान ठाडो’ बनाउने बेला आएको पनि बताए ।
प्रचण्डले क्रान्तिको उपलब्धिविरुद्ध प्रतिक्रान्तिकारीहरुले शक्ति परिचालन गर्ने गरेको लेनिनकालीन अतित पनि स्मरण गराएका थिए । उनले कर्मचारीहरुको उचित व्यवस्थापन गर्ने काममा ढिलाई नगर्न समेत सरकारलाई सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डले कर्मचारीहरुलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउने आश्वासन समेत दिएका छन् ।










