काठमाडौं, १६ साउन । तत्कालीन एमाले र माओवादी केन्द्रलाई ‘वाम गठबन्धन’ बनाएर नेपाल कम्युनिस्ट पार्टी गठनमा निर्णायक भूमिका खेल्ने नारायणकाजी श्रेष्ठ नै पार्टी नेतृत्वको पेलानमा परेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि ‘वाम गठबन्धन’ का सूत्राधार वामदेव गौतम र नारायणकाजी श्रेष्ठ हुन् । दुवै प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।

गौतम र श्रेष्ठ नेकपाको केन्द्रीय सचिवालय सदस्य छन् । श्रेष्ठलाई पार्टीको प्रवक्ता पनि दिइएको छ । तर, पछिल्लो समय नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मात्र पार्टीमा सर्वेसर्वा बनेकोमा श्रेष्ठ असन्तुष्ट छन् । दुई कम्युनिस्ट पार्टी एकीकरण गरेर ओलीलाई अहिलेको हैसियतमा पु¥याउनेमा नारायणकाजीको महत्वपूर्ण योगदान रहेको छ । यदि उनले आफ्नो निवास हरिसिद्धिमा ओली र प्रचण्डबीच भेटवार्ता नगराएको भए कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच सहकार्य जारी रहन्थ्यो । एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना नै रहन्नथ्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, अहिले ओली र प्रचण्ड दुवैले नारायणकाजीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै स्पष्टीकरण सोधेपछि उनले पार्टीको प्रवक्ताबाटै राजीनामा दिएर हिँडेका छन् । उनी अहिले कसैसँग सम्पर्कमा छैनन् । आमरण अनसनरत डा.गोविन्द केसीलाई भेटेको र तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डले पार्टीको बैठकमै स्पष्टीकरण सोधेपछि नारायणकाजी आक्रोशित हुँदै पार्टी प्रवक्ताबाटै राजीनामा बुझाएर हिँडेको समाचार सार्वजनिक भएको छ । कम्युनिस्ट पार्टीमा स–सानो विषयले निकै अर्थ राख्छ । झिनामसिना कुराले पार्टी फुटेको इतिहास छ । अहिले पार्टीको नेतृत्वसँग सम्पर्कमै नरहेपछि प्रधानमन्त्री केपी ओली र प्रचण्डले नारायणकाजीलाई फकाउने र पूर्ववत् जिम्मेवारीमा फर्काउने प्रयास गरेका छन् । तर, आफ्नो छुट्टै पहिचान बनाइसकेको र विगतमा पार्टी चलाएर हिँडेका नारायणकाजी पूर्ववत् जिम्मेवारीमा फर्के पनि त्यसले ओली र प्रचण्डलाई फाइदा नगर्ने निश्चित छ । किनभने नेकपामा अहिले भित्रभित्रै निकै असन्तुष्टि देखिएको छ । वामदेव गौतम, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, भीम रावल, योगेश भट्टराईलगायत कोही पनि ओली र प्रचण्डसँग खुसी छैनन् ।