काठमाडौं –संसदीय सुनुवाइ विशेष समितिले निर्णय लिनुअघि सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले प्रधामनन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खुलासा भएको छ ।

जोशीले मंगलवार राति ओलीसँग भेटवार्ता गरेका हुन् । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले विवादमा परेका कारण राजीनामा गर्न जोशीलाई घुमाउरो पाराले सुझाव दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जोशीले आफ्नो नाम अनुमोदनका लागि पहल गरिदिन आग्रह गरेका स्रोतको दाबी छ । ʻमैले सांसदहरूलाई निर्देशन दिन मिल्दैन । तपाईंले माहोल हेरेर निर्णय गर्नुस्,ʼ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो ।

ओलीले सार्वभौम संसदीय समिति र त्यसका सदस्यलाई आफूले कुनै दबाब दिन नमिल्ने र समितिले गरेको निर्णय स्वीकार्य हुने बताउँदै आएका छन् ।

यसअघि पनि नेकपाले राजीनामा गर्न जोशीलाई सन्देश पठाएको थियो । त्यसको भोलिपल्टै प्रधानन्यायाधीश जोशीको सचिवालले राजीनामा गर्ने भन्ने हल्ला निराधार भएको भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो ।

जोशीको सम्बन्धमा संसदीय सुनुवाइ समितिले आज निर्णय गर्दैछ । समितिका बहुसंख्यक सदस्य जोशीको नाम अनुमोदन नगर्ने पक्षमा देखिएका छन् ।

नेपाली कांग्रेस भने अहिले पनि जोशीको पक्षमा उभिएको छ । कांग्रेसले सकेसम्म निर्णय रोक्ने र नभए उपसमिति गठन गरेर छानविन गर्ने प्रस्ताव समितिमा लैजाने तयारी गरेको छ । लोकान्तर बाट साभार