संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन । अर्को बैठक पर्सि बस्नेगरि आजको बैठक स्थगित गरिएको छ । आजको बैठकले निर्णायक हुने समितिका सदस्यहरुले यसअघि बताएपनि अन्नततः निर्णय हुन सकेन ।
बैठकमा प्रमुख विपक्षी कांग्रेसले पूर्वसांसद कृष्णकुमार जोशीको निधनको शोकमा बैठक स्थगित गर्न माग गरेको थियो । नभए बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक पर्सि १० बजेका लागि सारिएको स्रोतले जनाएको छ ।
मंगलबार मात्र समितिमा ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले बुधबारको बैठकबाट स्वीकृति र अस्वीकृतको निर्णयमा पुगिने बताएका छन् । तर, बुधबारको बैठकले पनि जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने गर्न सकेन । प्रमाणपत्रमा विवाद भएपछि जोशीको सुनुवाई लगातार चार पटकसम्म सरेको हो।
जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । जोशीको शैक्षिक प्रमाणपत्र र विगतमा गरेका फैसलाका विषयमा समितिमा गम्भीर उजुरी परेपछि सुनुवाई पछिछपनि बैठक पटक पटक सर्दै आएको छ । शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो । आइतबार पनि बैठक नबसेर सोमबारका लागि बोलाइएको थियो । सोमबारको बैठकले निर्णय लिन नसकेपछि बुधबार बैठक बोलाइएको थियो ।
संसदीय सुनुवाई समितिले नाम अनुमोदन भएपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने कानुनी व्यवस्था छ । सत्तारुढ दल नेकपाका सांसदहरु जोशीको नामलाई अनुमोदन नगर्ने पक्षमा छन् भने काँग्रेसका सांसदहरु जोशीलाई प्रधानन्यायाधीश बनाउने पक्षमा छ । दैनिक नेपाल बाट










