काठमाडौं - किसानको खेतमा पानी नपुग्दै दुईपटक सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि अब त्यो नहर कसले बनाउने भन्ने विवाद उत्पन्न भएको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छ ।

४५ किलोमिटर लामो मूल नहरमध्ये ४२ किलोमिटर बनाउने सिटिसिई कालिका ज्वाइन्ट भेन्चरले आफ्नो दायित्व सकिएको दाबी गरेको छ । सिँचाइ विभागले भने अझै पनि भत्केको नहर बनाउने दायित्व कालिकाकै भएको जिकिर गरेको छ । विभागले भत्केको मूल नहर बनाउने दायित्व कालिकाको भएको बताइरहँदा आयोजनाले भने सन् २०१७ को जनवरीपछि ठेकेदारको दायित्व अवधि थपेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिँचाइ मन्त्रालय स्रोतले ठेकेदारको काममा शंका लागिरहेका बेला आयोजना प्रमुखले दायित्व अवधि थप गर्दै कालिकासँग सम्झौता गर्नुपर्ने आवश्यकता देखिएको बतायो । ‘अहिलेका आयोजना प्रमुख रमेश बस्नेतले नहर मर्मत गर्ने ठेकेदारको दायित्व अवधि थप नगर्दा भत्केको नहर कसले बनाउने भन्ने विवाद देखिएको हो,’ स्रोतले भन्यो, ‘सन् २०१५ मा मूल नहरको काम सकिएपछि तत्कालीन आयोजना प्रमुखले मर्मतको दायित्व अवधि थप गरेका कारण दुई वर्षअघि भत्केको मूल नहरको मर्मत कालिकाले नै गरेको थियो ।’