काठमाडौं, साउन १७ । देशमा पछिल्लो समय बढ्दै गएको बलात्कार र हत्याका घटना रोक्न मृत्युदण्ड समबन्धी कानून बनाउन सांसदहरुले जोडदार माग गरेका छन् । यस्ता घटना रोक्न सांसदहरुले मृत्युदण्डका विकल्प नरहेको बताउँदै तत्काल कानुन निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले फाँसी र मृत्युदण्डको व्यवस्था गर्न माग गरेका हुन् । बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद यज्ञराज सुनुवारले बलात्कारीलाई फाँसी हुनुपर्ने आवाज सडकमा उठिसकेकाले अब सदन पनि गम्भीर हुनुपर्ने बताए ।

‘सडकमा बलात्कारीलाई फाँसी दिऊँ भन्ने आवाज उठिसकेको छ, बालिकामाथिको अपराध पनि झन् बढ्दो छ’, सुनुवारले भने, ‘अब त्यसो नगरी हुँदैन, कडा भन्दा कडा सजायको व्यवस्था हुनैपर्छ ।’

त्यसैगरी अर्की सांसद मिना सुब्बाले पनि बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्ने माग गरिन् । ‘म पनि एउटी आमा हुँ, बालिकामाथि बलात्कारपछि भएको हत्याको घटनाले मेरो मन रोएको छ’, उनले भनिन्, ‘कन्चनपुरमा १३ वर्षीया बालिका बलात्कारपछि हत्या भएको छ, अर्कातिर काभ्रेमा ९ वर्षकी बालिकाको पनि बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध बनाएको छ ।’

त्यसैगरी विशेष समयमा बोल्ने सांसदहरुले पनि बलात्कारका घटना बढ्दै गएको भन्दै दोषी ठहरिएकाहरुलाई मृत्युदण्डसम्मको सजाय दिन माग गरेका छन् ।

नेपालको संविधानमा स्पष्ट रुप कुनै पनि अपराधमा मृत्युदण्ड सम्बनधी कानून बनाइने छैन भनेको भएपनि दिनप्रतिदिन देशमा मौलाउँदै गएको भ्रष्टाचार, बालिकामाथिको बलात्कार र अपराध नियन्त्रणका लागि मृत्युदण्ड सम्बन्धी कानून बनाउनु पर्ने माग नागरिकस्तरबाट बढेको छ ।