काठमाडौं । दुध किनेर फर्कँदै गरेको अवस्थामा आफूलाई अपरिचित व्यक्तिले बुधबार राति पेस्तोल देखाएर तर्साएको भन्दै संसदमा बयान दिएकी निरु पालको घटनाको अनुसन्धानका क्रममा प्रहरीले ८२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलका अनुसार पक्राउ परेका सबैलाई वृत्त नयाँ बानेश्वरमा राखिएको छ । बिहीबारको संसद बैठकमा एमाले सांसद निरुदेवी पालले आफुलाई पेस्तोल देखाएर तर्साएको भन्दै सुरक्षाको माग गरेकी थिइन् । परिसर काठमाडौंका एसएसपी पोखरेलले भने, ‘‘काठमाडौंभर सादा पोशाकका विशेषसहित अन्य टोली परिचालन गरिएको छ, विभिन्न स्थानबाट शंकास्पद सबैलाई पक्राउ गरिँदैछ । केही फरार प्रतिवादी पनि पक्राउ परेका छन् ।’’
प्रहरीले घटनाको अनुसन्धान गम्भीरतापूर्वक गरिरहेको बताउँदै एसएसपी पोखरेलले केहीदिनमै घटनाको सत्यतथ्य बाहिर आउने बताए ।
निरुदेवी पालको बयानपछि काठमाडौं प्रहरीका एसएसपी पोखरेल आफैँ फिल्डमा खटिएका छन् । गृहमन्त्री रामबहादुर थापाले पनि बिहीबारको संसद वैठकमा पालले उठाएको विषयमा सरकार गम्भीर रहेको बताउँदै घटनाको अनुसन्धान भइरहेको बताएका थिए । संसदमा कुरा उठिसक्दा पनि पालले प्रहरीको कुनै पनि निकायमा लिखित उजुरी भने दिएकी छैनन् ।










