नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला कमिटीको एकीकरण भदौ पहिलो साताभित्र टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीचको छलफलले भदौ ५ भित्र एकीकरण सक्न निर्देशन दिँदै परिपत्र जारी गरेको हो । महासचिव पौडेलले विहीबार विहानको छलफल लगत्तै तल्लो तहको एकीकरण गर्न बनेको कार्यदललाई भदौ पहिलो साता प्रदेश र जिल्ला कमिटिको एकीकरण यथाशिघ्र टुंग्गाउन भन्दै परिपत्र जारी गरेका हुन् । पौडेलले विशेष परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् ।

परिपत्रमा भदौ १५ भित्र सबै जिल्लाको पहिलो एकताको पूर्ण बैठक बस्न परिपत्रमा निर्देशन दिइएको छ । जेठ ३ गते पार्टी एकता भएपछि ७ गते सबै तहको कमिटीको एकताका लागि कार्यदल गठन भएका थिए । त्यस्तै १६ गते दुई अध्यक्षले सर्कुलर जारी गर्दै १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । यसअघि जेठ १६ गते जारी गरिएको विशेष सुर्कुलरमा १५ दिनभित्र एकीकरणको प्रतिवेदन बुझाउन भनिए पनि दुई महिनासम्म कुनै पनि कार्यदलले काम सकेको थिएन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्कुरलमा सबै जनवर्गीय संगठनको एकताका लागि गठन भएका कार्यदललाई समेत सोही मितिको म्याद दिएर काम गर्न निर्देशन दिइएको छ । निर्देशन अनुरुप सबै जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदलले समेत २५ गतेभित्र प्रतिवेदन बुझाउन ५ गतेभित्र एकता गर्न र १५ गते भित्र पहिलो बैठक बस्न निर्देशन दिइएको छ । भूगोलका ७७ जिल्ला कमिटी बाहेक काठमाडौं उपत्यकामा युवा, विद्यार्थी, मजदुर, पेशागत र उद्योग व्यवसायीको अलग्गै जिल्ला कमिटी गठन गर्न कार्यदल समेत गठन गरिएको छ ।