१८ साउन – जनकपुरको उच्च अदालतले प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न परमादेश जारी गरेसँगै राजपाभित्र खैलाबैला मच्चिएको छ ।

राजपाबाट राज्यमन्त्री बनेका शर्मा असई थमन विकको हत्याका फरार अभियुक्त हुन् । प्रहरीको सूचीमा फरार भएकै बेला उनी प्रदेशसभा सदस्य चुनिएका थिए । हालै मात्र राजपाले उनलाई राज्यमन्त्री बनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फरार भनिएका प्रतिवादीहरू सार्वजनिक पद धारण गरेर खुलेआम हिँड्दा पनि हत्याका अभियुक्तहरुलाई पक्राउ नगरेको भन्दै उच्च अदालत जनकपुरले बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले प्रहरीलाई सचेत गराएको छ ।

महोत्तरी जिल्ला अदालतको आदेशबाट केही प्रतिवादी जलेश्वर कारागारमा थुनामा रहेको भए पनि बाँकी प्रतिवादीलाई प्रहरीले पक्राउ नगरेको भन्दै असई विककी श्रीमती शोभा गहतराजले २८ चैत २०७२ मा अदालतमा मुद्धा हालेकी थिइन् ।

यो मुद्दामा जलेश्वर २ का मिश्रलिाल माझी, ३ का संजयकुमार साह र परिकौलीका मोहन ठाकुर थुनामा छन् । तर, अरु अभियुक्त पक्राउ परेका छैनन् ।

फरार प्रतिवादीमध्ये अभिराम शर्मा प्रदेश सांसद हुँदै राज्यमन्त्री बनेका छन् भने कौशलकुमार यादव प्रदेशसभा सदस्य र शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर छन् । महोत्तरी प्रहरीका अनुसार २८ जना हालसम्म फरार छन् ।

उच्च अदालत जनकपुरले फरार अभियुक्तहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको रजिस्टार मानबहादुर कार्कीले जानकारी दिए ।

मधेस आन्दोलनको क्रममा २५ भदौ ०७२ मा महोत्तरीको जलेश्वरमा भएको झडपका क्रममा सशस्त्र प्रहरीका असई थमन घाइते भएका थिए । उपचारका लागि जनकपुरमा ल्याउने क्रममा एम्बुलेन्सबाटै थुतेर उनको हत्या भएको थियो ।

राजपाको आकस्मिक बैठकः

अदालतको आदेशपछि राजपाभित्र तनाव उत्पन्न भएको छ । राजपाले पार्टीको आकस्मिक बैठक बोलाएर यस विषयमा तत्काल निर्णय लिने जनाएको छ । प्रहरीको फरार सूचीमा भएका मन्त्री र मेयरलाई राजपाले अदालतमा आत्मसर्मपण गराउनुपर्ने बाध्यता आइलागेको छ ।

राजपाका अध्यक्ष मण्डलका नेता एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले पार्टीको बैठक बसेर तत्काल निर्णय लिने बताए । उनले अदालतको आदेश आपत्तिजनक रहेको भन्दै पार्टी बैठकले नै आवश्यक निर्णय लिने बताए ।

असई थमन बिकको हत्या एउटा राजनीतिक घटना भएकाले यसलाई मधेस आन्दोलनसँग जोडेर हेर्नुपर्ने यादवले बताए । उनले मेयर र मन्त्री उक्त घटनामा नभएको र मृतककी श्रीमतिले जथाभावी नाम पोलेको आरोप लगाए ।