कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । सरकारले शेरबहादुर तामाङले राजीनामा दिएपछि काुननमन्त्री नियुक्त गर्न सकेको थिएन ।
मोरङ्ग क्षेत्र नम्बर ३ बाट निर्वाचित ढकाललाई सरकारले कानुनमन्त्रीमा नियुक्त गरेको हो । मन्त्रीहरुको सपथ साढे ४ बजे तय भएको छ ।
कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राले प्रमाणपत्र पाउन ‘शरीर सुम्पनुपर्ने बाध्यता रहेको’ भन्ने विवादास्पद अभिव्यक्तिका कारण केही दिनअघि पदबाट राजीनामा दिएका थिए ।
उनले साउन ८ गते राजीनामा दिएका थिए । पार्टीका वरिष्ठ नेताहरुले तामाङलाई राजीनामा दिन सुझाएपछि उनले राजीनामा दिएका थिए ।
राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
त्यसैगरी संघीय समाजवादी फोरम नेपालको भागमा परेको स्वास्थ्य मन्त्रालयमा पनि राज्यमन्त्री थप हुने भएको छ । स्रोतका अनुसार डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाइँदैछ । यादव महोत्तरी ४ बाट विजयी भएका हुन् ।
को हुन् ढकाल ?
यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन कानुन नै हो । मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन् । तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो । ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए । काठमाडौं टुडे बाट










