कञ्चनपुर । भिमदत्त नगरपालिका–१० तीनतारामा ५ बर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । घरमा एक्लै भएको मौका छोपी बाजे नाता पर्ने बर्ष ३९ का लक्षिराम कोलीले ५ बर्षीया बालिकालाई बलात्कारको प्रयास गरेका छन् ।
शनिबार बिहान साढे ९ बजेतिर भिनपा–१० तीनतारामा घरमा कुरुवा बसेका बाजेले अवोध बालिकालाई बलात्कारको दुष्प्रयास गरेका थिए ।
घटना यस्तो थियो
बिहान साढे ९ बजेको कुरा हो । बालिका(नाम नखुलाइएको) घरमा एक्लै छोडेर बा, बाजे, बज्यै आ–आफ्नो कामका निस्किसकेका थिए । बालिकाको बाजे(टाढाको नाता पर्ने) लक्षीराम कोलीलाई खाना पकाएर खुवाउन र हेरचाह गर्न भनिएको थियो ।
बालिकाका बुवा स्थानीय ईटा भट्टीमा मजदुरी गर्न निस्केका थिए भने, बाजे बज्यै घाँस काट्न भन्दै जंगलतिर गएका थिए । कोलीले बालिकालाई एक्लै भेटेको मौकामा जबरजस्तीकरणी गर्न तम्सिए । बालिका चिच्याएर भागिन् । स्थानीय सरस्वती भट्टलाई उदृत गर्दै जनता संवाददाता धर्मराज कठायतले भनेका छन्–बाजेको कर्तुतको मेसो पाइसकेकी अवोध बालिका भागेर छिमेकी कहाँ पुगेकी थिईन् ।
रुँदै आएकी बालिकालाई छिमेकी महिलाले के भएको हो भनि सोध्दा उनी रुन थालिन् । हेर्दा बालिका निकै आत्तिएकी देखिन्थिन् । महिलाले बालिकामाथि जबरजस्तीकरणी भएको भन्दै उनका आफन्तलाई जानकारी गराउने निधो गरेकी थिईन् । नभन्दै बालिकाले भनिन्– बाजेले मलाई नग्न बनाएर ‘नराम्रो’ गर्न खोजे ।
छिमेकी महिलाले मजदुुरी गर्न गएका बालिकाका बुवालाई खबर गरेपछि घटनाको वास्तविक बाहिर आयो । उनीमाथि बलात्कारको प्रयास भएको रहेछ । एक महिनादेखि बालिकाको घरमा बस्दै आएका ती बाजे घटना भइसकेपछि भागिसकेका थिए । स्थानीयको पहलमा पीडित बालिकाका बुवाले प्रहरीलाई खबर गर्दा करिब ४ घण्टापछि ती बाजे भन्ने लक्षीराम कोली पक्राउ परेका थिए ।
अहिले तिनलाई प्रहरीको हिरासतमा राखिएको छ । पीडितका बुवाले कोलीलाई कडा कारबाहीको माग गरेका छन् । पीडित बालिकाकी आमाको मृत्यु भइसकेको छ ।
कञ्चनपुरमा केही महिना यता आपराधिक घटनामा बढोत्तरी भएको छ ।
जनता समाचार बाट









