नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारलाई अधिनायकवादी भन्ने नैतिक बल कांग्रेस सभापति शेरबहादुर देउवामा नरहेको ठोकुवा गर्नुभएको छ ।
एबिसी टेलिभिजनका लागि शुभशंकर कँडेलसँग कुरा गर्दै कोइराला परिवारमा निकै प्रभावशाली नेता शेखरले देउवाको ब्यवहार र आचरण लोकतान्त्रिक हुँदै नभएको ठोकुवा गर्नुभयो । उहाँले अरुलाई अधिनायकवादी वा अलोकतान्त्रिक भन्नका लागि सवैभन्दा पहिला आफूमा लोकतान्त्रिक आचरण र ब्यवहार हुनुपर्ने बताउनु भयो ।
‘कांग्रेस नेतृत्व (देउवा) कै आचरण र ब्यवहार लोकतान्त्रिक छँदै छैन, आफूलाई मनमा जे लाग्छ, त्यही गर्ने मनोमानी छ,’ कोइरालाले भन्नुभयो, ‘आफू चाँही जे मन लाग्छ, त्यही गर्ने, अरुलाई अलोकतान्त्रिक, अधिनायकवादी भन्ने ? यस्तो कसैलाई सुहाउँदैन ।’ उहाँले नेकपा र प्रधानमन्त्रीलाई लोकतन्त्रबिरोधीको आरोप लगाउनु अघि देउवा आफै सुध्रनु पर्ने र लोकतान्त्रिक आचरणमा आउनु पर्ने बताउनु भयो ।
‘पहिला कांग्रेस नेतृत्व आफै लोकतान्त्रिक हुनुपर्यो, आफू लोकतान्त्रिक नभई अरुलाई लोकतान्त्रिक भएन वा छैन भन्ने नैतिक बल वा अधिकार दुवै हुन्न, छैन,’ देउवाको ब्यवहार लोकतान्त्रिक भन्नै नमिल्ने तर्क गर्दै डाक्टर कोइरालाले भन्नुभयो, ‘ आफू मनोमानी गर्ने, सरकार चाँही लोकतान्त्रिक छैन भन्ने ? आफू नसुध्रिकन यस्तो अरुलाई अलोकतान्त्रिक भन्ने नैतिक अधिकार वा बल दुवै रहन्न ।’
कोइरालाले भदौंमा तोकिएको महासमिति बैठक सार्ने खेल गरेर सभापति देउवाले गम्भीर गल्ती गरिरहेको बताउनु भयो । ‘केन्द्रीय समितिले भदौंमा महाधिवेशन गर्ने निर्णय गर्यो, तर अहिलेसम्म चाइचुँई छैन, यस्तो त गर्नुभएन नि, केन्द्रीय समितिले तोक्ने, सभापति सार्ने भएपछि लोकतन्त्र भन्न मिल्छ ?’ कोइरालाले भन्नुभयो । उहाँले चाँडो भन्दा चाँडो महासमिति बैठक बसेर महाधिवेशनको मिति तोक्ने, बिधान संशोधन गर्दै संघीय संरचनाअनुसार पार्टीलाई अघि बढाउनुको बिकल्प नभएको बताउनु भयो ।
‘म देउवाको राजीनामा माग्दिन, बरु अर्लि महाधिवेशन गर्न सकिन्छ, सभापतिले राजीनामा दिएर हिडने प्रचलन राख्नुहुन्न, त्यो भोलिका लागि पनि घातक हुन्छ,’ कोइरालाको भनाई छ, ‘राजीनामा होइन, समयभित्र महाधिवेशन गर्नुपर्छ, समय लम्ब्याउने कुरा स्वीकार्य छैन ।’ उहाँले संघीय संरचनाअनुसार अघि बढन नसक्दा चुनावमा कांग्रेसले पराजय भोगेको तथ्यलाई सवैले आत्मसाथ गर्नुपर्ने बताउनु भयो ।
‘संघीय संरचनाअनुसार बिधान संशोधन गरी संगठनलाई चलायमान नबनाएकै कारण कांग्रेस हारेको हो । तर नेतृत्वले यसतर्फ अझै ध्यान दिँदै दिएको छैन । कांग्रेसको दुर्भाग्य यही हो,’ कोइरालाले भन्नुभयो । उहाँले अहिले कांग्रेसले निर्वाह गरिरहेको भुमिका पनि सही नभएको बताउनु भयो ।
‘नेतृत्व अझै नसुध्रिए किनारामा बसेर दोष मात्रै लगाउने अवस्थामा कांग्रेस पुग्छ,’ कोइरालाको भनाई थियो । उहाँले प्रधानन्यायाधीशको संसदीय सुनुवाईमा सत्तारुढ दलसँगै कांग्रेस पनि नराम्रोसँग चुकेको बताउनु भयो । ‘प्रधानन्यायाधीशको कार्यक्षमता अभाव हो भने रिजेक्ट गर्यो, सकियो । तर प्रमाणपत्र हो भने त्यो हेर्ने अधिकार सांसदलाई छैन । अर्कै निकाय छ,’ कोइरालाले भन्नुभयो, ‘रिजेक्ट अर एक्सेप्ट मात्रै हो सुनुवाई समितिमा । सहमतिको कुरा हुन्न । तर सुनुवाई समितिमा रहेको कुनै पनि सांसदले त्यो काम गरेनन ।’
उहाँले आगामी महाधिवेशनमा कोइराला परिवार एकजुट भएर जाने संकेतसमेत गर्नुभयो । कांग्रेसको आचरणमा सुधार गरी लोकतान्त्रिक चरित्र देखाउन कोइराला परिवारको भुमिका रहने निश्कर्षसहित एकजुट बनेको उहाँको भनाई थियो ।
‘कोइराला परिवार बिभाजित छैन, हुँदैन, हामीबीचमा कुनै समस्या छैन । कार्यकर्तामा जे चिन्ता छ, त्यसको निराकरण गर्न हामी एक भएरै अघि बढछौं,’ डाक्टर शेरखको भनाई थियो । जनता टाइम्स बाट साभार










