चितवन– आइतबार प्रहरीले पक्राउ गरेका गोरखा फुजेलका नुरप्रसाद अधिकारीलाई तत्काल झिकाउन चितवन जिल्ला अदालतले पुनः आदेश दिएको छ । फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला रहेका अधिकारीलाई तत्काल झिकाउन अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आदेश गरेको हो ।

शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पुर्याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गर्नुभएको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताएका छन् । यसअघि फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गरेका थिए । सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेका अनुसार म्याद जारी गर्दा स्वयं व्यक्ति, नभेटिए घरका जहान, त्यो पनि सम्भव नभए घरको मूल ढोकामा म्याद टाँस गर्नुपर्ने हुन्छ । यसअघि रित नपुगेका कारण पुनः म्याद जारी गर्न आदेश भएको हो । घिमिरेका अनुसार भदौ ४ गते अधिकारीलाई अदालतमा हाजिर हुने गरी म्याद जारी गरिने भएको छ ।

अदालतमा आज वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली, जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराम गिरी र अधिवक्ता ईन्द्र अर्यालले बहस गरेका थिए । त्यसैगरी प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ता दिनमणि पोखरेलले बहस गरेका थिए । सो मुद्धाका जाहेरवाला अधिकारीलाई आइतबार प्रहरीले ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको छ ।

यसरी समातिएका थिए नुरप्रसाद ? महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार आइतबार अपरान्ह नुरप्रसादलाई नियन्त्रणमा लिइएको छ । नुरप्रसादलाई पक्राउ गरिएको नभई खोजबिन गरी नियन्त्रणमा लिइएको सिंहले बताए ।

यसअघि असार २९ गते गंगामाया अधिकारीले अनसन तोड्ने क्रममा आफ्नो जेठा छोरा नुरप्रसाद अधिकारीको खोजी गरिदिनसमेत आग्रह गरेकी थिइन् । गंगामायाको आग्रह अनुसार नुरप्रसादलाई खोजी गरिएको हो । नुरप्रसादलाई आइतबार नै गंगामायाको जिम्मा लगाउने तयारी भएको महाशाखाका एसएसपी सिंहले बताए ।

२०६१ साल जेठ २४ गते चितवनमा मारिएका आफ्ना भाइको हत्या आरोपीलाई हदैसम्मको कारवाहीको माग गर्दै उनले २०७१ सालदेखि आन्दोलन गर्दै आएका थिए । जिल्ला अदालत चितवनमा किटानी जाहेरी दिने उजरीकर्तामध्ये नुरप्रसाद प्रमुख व्यक्ति थिए । तर २०७२ सालदेखि उनी अनसनरत आमा र मानव अधिकारवादीसँग पनि सम्पर्कविहीन भएका थिए । रातो पाटी बाट