काठमाडौँ– नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयको छवि सुधार्दै जनताको मन छुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।

देश संघीय संरचनामा अगाडि बढेको र स्थायी सरकार भएका कारण जनताको ठूलो अपेक्षा यो सरकारप्रति रहेको बताउँदै आज मन्त्रालयमा निर्देशन दिँदै मन्त्री अर्यालले भनिन्, “हिजोको जस्तो आरोपप्रत्यारोप गरेर कामबाट मुक्त हुने अवस्था कर्मचारीलाई अब छैन । देश परिवर्तनका लागि स्थायी सरकार निर्माण भएका कारण कर्मचारीले पनि तन मन लगाएर काम गर्नुपर्छ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि स्वास्थ्यराज्यमन्त्री रहनुभएका अर्याल गत शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका रुपमा नियुक्त भएकी थिइन् ।

उनले सेवाग्राहीप्रति नम्र, शिष्ट र शालीनरुपमा प्रस्तुत हुन आग्रह गर्दै मालपोत, नापीमा जाँदा जुन गुनासा सुनिएका छन् ती गुनासा अब आए भने त्यसको जिम्मेवारी मन्त्रालयमा बस्ने कर्मचारीले पनि लिनुपर्ने हुन्छ भनिन् ।

मन्त्री अर्यालसमक्ष मन्त्रालयका सचिव गोपिनाथ मैनाली र महाशाखा प्रमुखले मन्त्रालयको भावी योजना र कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

रासस