जनकपुर–प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अहिले प्रहरीको खोजीसूचीमा रहेका छन् । उनीमाथि तेश्रो मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ ।

उच्च अदालत जनकपुरले राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेपछि प्रहरीले उनको खोजी थालेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेश्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २३ गते आन्दोलनकारीको आक्रमणमा परेर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोपमा राज्यमन्त्री शर्मा पक्राउ गर्न अदालतले परमादेश जारी गरेको हो ।

सशस्त्रका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोपमा उच्च अदालत जनकपुरले असार २५ गते परमादेश जारी गरेको थियो ।

उच्च अदालत जनकपुरका न्यायधीश माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले हत्या आरोपीलाई अबिलम्ब पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रमुखको नाममा परमादेश जारी

गरेको थियो ।

जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलास समक्ष पेश गर्न र फरार रहेका प्रतिवादीहरुको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरे पनि हाल सम्म उपस्थित नभई अटेरी गरिरहेका थिए ।

तर, उच्च अदालत जनकपुरले राज्यमन्त्री शर्मालाई पक्राउ गर्न गत विहिवार फेरि महोत्तरी जिल्ला प्रहरी कार्यालय पत्र पठाएपछि खोजी कार्यलाई प्रहरीले तीब्रता दिएको हो । हत्या आरोपी भएपनि राजपाले फरार रहेकै अवस्थामा उनलाई राज्यमन्त्रीमा चयन गरेको हो ।

कहाँ छन् अभिराम ?

प्रहरीले उनलाई खोजी राखेको बताएपनि अहिलेसम्म पक्राउ भने गरेको छैन । राज्यमन्त्री शर्मा अहिले काठमाडौँमा बसेको बताइएको छ । उनलाई समात्न महोत्तरी जिल्ला प्रहरी कार्यालयले हिजै तीन सदस्य

एक टोली गठन गरेको छ । सो टोलीले उनको खोजी कार्यलाई तीब्रता दिएको महोत्तरीका एसपी कुँवर काठायतले जानकारी दिए ।

एसपी कठायतले भने, ‘उच्च अदालतले पठाएको पत्र शुक्रवार प्राप्त भएको छ । त्यो पत्र र अदालतले गरेको फैसलाको बारेमा हिजो अध्ययन गरेँ । अध्ययनपछि पक्राउ गर्नका लागि एउटा टोली बनाइएको छ । टोलीले आफ्नो काम शुरु गरेको छ ।’

उनका अनुसार जहाँ भेटिन्छ अभिरामलाई टोलीले त्यही समातेर कारबाही प्रक्रिया अघि बढाउछ ।