काठमाडौँ– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनतालाई केन्द्रमा राखेर काम गर्दा नै मुलुकको समृद्धि हुनसक्ने बताएका छन् ।
नेपाल–कोरिया मैत्री संघले आज आयोजना गरेको ‘जुछे विचारधारामा आधारित शान्ति तथा समृद्धिबारेको नेपाल राष्ट्रिय सम्मेलन’ मा सभामुख महराले भने, ‘समृद्धिको मुख्य आधार सार्वभौमसत्तासम्पन्न जनता नै हो । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको क्रान्ति र आत्मनिर्भरताको सिद्धान्तले पनि हामीलाई त्यही पाठ सिकाएको छ ।’
उनले उत्तर कोरिया र त्यहाँका नेता किम इल सुङ्गको नेतृत्वमा साम्राज्यवादीलाई पराजित गरी नयाँ सत्ताको स्थापनाले आत्मनिर्भरता र राष्ट्रवादी पक्षधरलाई उजागर गरेको बताए । कुनै पनि देशमा शान्ति स्थापना क्रान्ति नभइकन सम्भव नहुने बताउँदै जनता केन्द्रित र मानव केन्द्रित जुछे विचारधारालाई आत्मसात् गर्न सक्नुपर्नेमा उनको जोड थियो ।
सुङ्गको नेतृत्वमा जापानविरुद्ध सञ्चालित सशस्त्र संघर्षले सन् १९४५ अगष्ट १५ विजय हासिल गरेको थियो भने सने १९४८ सेप्टेम्बर ९ मा प्रजग कोरियाको स्थापना भई सुङ्ग राष्ट्रपति भएका थिए । त्यसपछि कोरियाली कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । हाल सो पार्टी कोरियाली श्रमिक पार्टीका नामबाट पुनःगठित भएको छ ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले कोरियाली क्रान्तिबाट सिकेर सामाजिक बजार अर्थतन्त्र स्थापना गर्नुपर्नेमा वाम सरकारले समेत नव उदारवादी पूँजीवादी अर्थतन्त्रलाई लागू गरेको भन्दै आफ्नो पार्टीको नेपाल चिन्तन सही भएको जिकिर गरे ।
कार्यक्रममा प्रजग कोरियाका प्रमण्डलको सहभागिता थियो भने कोरियासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
रासस










