अर्जुन राजवंशी
दमक — आर्थिक अनुशासनमा ध्यान नदिँदा दमक बहुमुखी क्याम्पस करोडौं रुपैयाँ ऋणमा डुबेको छ । जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण क्याम्पस सञ्चालनमा आर्थिक संकट आइपरेको हो ।
शनिबार भएको सातौं क्याम्पस सभामा क्याम्पस ३ करोड ५१ लाख ८४ हजार ५ सय ४० रुपैयाँ ऋणमा परेको प्रतिवेदन पेस भएको छ । आम्दानीको स्रोत व्यवस्थापन गर्न नसके केही वर्षपछि नै क्याम्पस ठूलो ऋणको भारसहित बन्द हुने अवस्थामा पुग्ने सम्भावना औंल्याइएको छ । यो क्याम्पस गुणस्तर सुनिश्चितता र स्तरीयता (क्यूएए) प्रमाण–पत्र प्राप्त क्याम्पस हो ।
विश्वविद्यालयबाट नियमित र विशेष अनुदान पाउँदै आए पनि क्याम्पस आर्थिक संकटका कारण बन्द हुन सक्ने अवस्थामा पुगेको छ ।
क्याम्पस ५ वर्षयता वर्षेनी ऋण लिएर चलिरहेको छ । ऋण लिएको पैसा प्राध्यापक र कर्मचारीको तलब तथा उत्पादनमा खर्च भएको क्याम्पस प्रमुख उत्तम भट्टराईले जानकारी दिए । क्याम्पस करोडौं ऋणमा परेपछि क्याम्पस सञ्चालक समितिले गत असार ३१ गतेपूर्व सञ्चालक समिति अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा आर्थिक, प्रशासनिक सुधार तथा व्यवस्थापन सुझाव उपसमिति गठन गरेको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनअनुसार क्याम्पसले आव ०७४/७५ को अन्त्यसम्ममा प्राध्यापक र कर्मचारीलाई तीन महिनाको तलब र अतिरिक्त समयको पारिश्रमिकबापत एक करोड १४ लाख ८४ हजार ५ सय ४० रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
विद्यार्थी कल्याणकोषबाट ५० लाख र प्राध्यापक–कर्मचारी कल्याण कोषबाट ९० लाख ऋण लिएको तथा अवकाशप्राप्त प्राध्यापकलाई उपदानबापत ९७ लाख भुक्तानी दिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार आव ०७३/७४ मा ५ करोड १८ लाख ८२ हजार ८ सय ६० रुपैयाँ आम्दानी गरेकामा ६ करोड १६ लाख ९० हजार १४ रुपैया खर्च भएकाले उक्त वर्ष क्याम्पस ९८ लाख ७ हजार एक सय ५४ रुपैयाँ ऋणमा परेको संयोजक बुढाथोकीले बताए । उनले कतिपय संकायमा विद्यार्थीभन्दा प्राध्यापकको संख्या धेरै भएकाले क्याम्पस ऋणमा डुबेको बताए । उनले भने, ‘कतिपय कक्षा कोठामा विद्यार्थीको न्यूनतम संख्या समेत देखिएन । तर, त्यसतर्फ क्याम्पस प्रशासनको ध्यान गएजस्तो पाएनौं । एक सिफ्टमा चलाउन सकिने क्याम्पसलाई दुई सिफ्टमा चलाउने कार्य भइरहेको छ । यसले गर्दा क्याम्पसमा आर्थिकभार वृद्धि भएको हो ।’ उनले अतिरिक्त समय (ओटी) मा दुरुपयोग हुने अवस्था देखिएकाले पनि क्याम्पस ऋणमा परेको दाबी गरे ।
प्राध्यापकलाई उपदान दिने दर्बिलो कोषको व्यवस्थापन भएकाले पनि क्याम्पस ऋणमा परेको उनको दाबी छ । दमक क्याम्पस सामुदायिक क्याम्पस हो । प्राध्यापकहरूले साप्ताहिक १८ पिरियड पढाउँदै आएका छन् । तर, सामुदायिक क्याम्पस भएको तथा आर्थिक संकटको अवस्थाबाट पार पाउनका लागि अब, साप्ताहिक २१ पिरियड अनिवार्य गर्न समितिले सुझाव दिएको छ ।
सभामा प्रस्तुत लेखा समितिको प्रतिवेदनले क्याम्पसमा आर्थिक अपारदर्शीता हुने गरेको दाबी गरेको छ । हरिप्रसाद नेपाल संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनमा कुनै सामग्री खरिद गर्दा वा मर्मतसम्भारमा खरिद प्रक्रिया पूरा नगरेको, विश्वविद्यालय अनुदान आयोग (यूजीसी), त्रिविलगायत अन्य क्षेत्रका पाहुना आएको भनि विभिन्न समयमा अत्याधिक होटलमा बास र खाना खर्चका बिलहरू बिनापुष्टि पेस गर्ने गरेको उल्लेख छ ।
यसैरी, क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीले महिनाको पहिलो हप्तादेखि नै बाह्रै महिना तलब पेस्की चलाउने गरेको, क्याम्पसको प्रशासनिक एवं पुँजीगत खरिदमा अत्यधिक पेस्कीबाट कारोबार गरिएको र कुनै निकायमा निर्णय नगरी जथाभावी पेस्की दिने गरेको उल्लेख छ । क्याम्पसमा ६२ जना प्राध्यापक, २५ जना कर्मचारी छन् । २ हजार ८ सय ९२ जना विद्यार्थी अध्ययनरत छन् ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष देवीप्रसाद दाहालले प्राध्यापकलाई उत्पदान दिने दर्बिलो कोषको व्यवस्था नहुनु र लामो समयदेखि विद्यार्थीको शूल्क वृद्धि नहँुदा क्याम्पस ऋणमा परेको दाबी गरे ।










