राजधानीको काँडाघारीमा चिया पसल चलाउँदै आएकी सिन्धुपाल्चोककी चमेली खड्काकी छोरा ११ वर्षीय निशान खड्का आइतवार राति ८ बजे बेपत्ता भए । चिया पिउन आएका दुईजना युवाले बालकलाई लगेको खुलेपछि परिवारले प्रहरीलाई राति नौ बजे नै खबर गरे । परिवारले बालक हराएको सूचना पाइसकेपछि उता अपहरणकारी युवाले उनका परिवारसँग फिरौतीको बार्गेनिङ थालिसकेका थिए । पसलमा आएर दुई पटक चिया पिएका उनीहरुले बालकलाई उठाएपछि उनकी आमासँग ४० लाख रुपैयाँ फिरौतीबाट बार्गेनिङ सुरु गरेका थिए । राति पटक पटक फोन गरेर उनीहरुले बालककी आमासँग फिरौती बार्गेनिङ गरिरहँदा बालकको पनि ज्यान लिने धम्की दिएका थिए । त्यसक्रममा उनीहरुले बालकको राति नै हत्या गरेको खुलेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

आमासँग बार्गेनिङ गर्दा गर्दै बालकको राति नै हत्या भएको खुलेको छ, उनले भने, ‘राति नै बालकको ज्यान लिएपछि उनलाई ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशस्थित श्याम लवटको निर्माणाधीन घर बाहिरतर्फको गारोसँगै जोडिएको खाल्डोमा गाडिएको अवस्थामा भेटिएको छ ।दुवै अपहरणकारीले बालकको हत्या आफ्नै कोठामा गरेपछि त्यहाँबाट निकालेर निर्माणाधीन नयाँ घरको खाल्डोमा पुरिएको भेटिएको हो । खाल्डोमा भेटिएको बालकको खुट्टा सेतो टेपले बाँधिएको थियो । बालकका परिवारले निशान बेपत्ता भएको खबर गरेपछि काठमाडौँ र भक्तपुरका प्रहरी युनिट एकसाथ एलर्ट भएका थिए । राति नै खबर आएपछि सोमबार बिहानैबाट काठमाडौँ र भक्तपुर परिसरको टोलीले काँडाघारीबाट अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धाननका लागि सबैभन्दा सजिलो निशानकी आमालाई फोन गर्न प्रयोग गरिएको मोइबालबाट भयो । अनुसन्धान अघि बढ्दै गर्दा अपहरणकारीले प्रयोग गरेको सिमकार्डको अन्तिम लोकेशन भक्तपुरको ठिमी क्षेत्र देखाएपछि प्रहरीको डेढ सय जना भन्दा बढीको टोली त्यहाँ परिचालित भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोबाइल सेवा प्रदायकबाट दुवै सिमकार्डका लोकेशन नगदेश क्षेत्रमा रहेको भेटिएपछि प्रहरीले त्यहीँ अनुसन्धान केन्द्रित गरेको थियो । त्यसक्रममा लवटको निर्माणाधीन घरको भुइँतालको गारोसँगै जोडिएको खाल्डोमा बालकको शव भेटियो ।