पर्वत । अमेरिका पठाईदिन्छु भन्दै बिभिन्न ब्यक्तिबाट लाखौ रुपैँया ठगी गरेको आरोपमा पुर्व साँसद मिठाराम बिश्वकर्मा (दुःखी) बैदेशिक रोजगार बिभागको हिरासतमा परेका छन ।

नेपाली कांग्रेसबाट संसद पूर्नस्थापना पछि अन्तरिम ब्यबस्थापिका संसदको सदस्य बनेका बिश्वकर्मा चार हप्ता देखि बैदेशिक रोजगार बिभागको हिरासतमा परेका हुन । पुर्व साँसद बिश्वकर्माले पर्वतको कुस्माका दुई युवालाई अमेरिका पठाउँछु भनेर २५ लाख भन्दा बढी नगद ठगी गरेको आरोप लागेको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पर्वतको कुस्मा नगरपालिका वडा नं ८ चुवा स्थायी घर भएका पुर्व साँसद बिश्वकर्माले कुस्मा नगरपालिका वडा नं ४ का सज्जन जोशी र वडा नं ५ का ज्ञानेन्द्रकुमार जोशीसंग पटक पटक गरि रकम लिएको उजुरीका आधारमा बैदेशिक रोजगार बिभागले पक्राउ गरेको हो । उनलाई असार २८ गते देखि हिरासतमा राखिएको छ । बिश्वकर्मालाई महानगरीय प्रहरी प्रभाग बालाजुले २८ गते पक्राउ गरेको थियो ।

राष्ट्रिय समाचार समितिको अध्यक्ष समेत भैसकेका बिश्वकर्मा नेपाल शिक्षक संघका पुर्व केन्द्रिय उपाध्यक्ष समेत थिए । उनले सज्जन र ज्ञानेन्द्र जोशीलाई ‘म संग रातो पासर्पोट छ, जसरी पनि अमेरिका छिराउँछु ’ भनेर रकम लिएको पिडीत सज्जनका बुवा महेन्द्रकुमार जोशीले बताउनुभयो । ‘मैले अमेरिकाबाट बिद्यार्थी भिषा झिकाउँछु भनेर पटक पटक पैसा मागेपछि बिश्वासमा दिएको थिए’ उहाँले भन्नुभयो ‘तर साढे दुई बर्ष सम्म पनि अमेरिका नपठाएपछि बाध्य भएर मुद्दा दिएका हौ’

बिश्वकर्मालाई महेन्द्रकुमार जोशीले मात्रै छोरा सज्जनलाई अमेरिका पठाउन भनेर १७ लाख ५० हजार रुपैया नगद दिएको बताउनुभयो । बिश्वकर्माको नाममा एभरेष्ट बैंकमा रहेको खाता नं ०२०००५०१३०६९०३ मा बैंक भौचरबाट १० लाख ५० हजार र हातमै पटक पटक गरेर ७ लाख दिएको जोशीको दाबी छ । जोशीले अहिले सम्म १७ लाख ५० हजार रुपैंया को ब्याज समेत गर्दा ३० लाख भन्दा बढी भएको बताउनुभयो ।