नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक भोलि (बुधबार) बस्ने भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भोलिका लागि बैठक डाकिएको तर समय भने टुंगो नभएको  बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन्।

यसअघि परिषद्ले जेठ २९ गते न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनुवाइ समितिले उनलाई अस्वीकृत गरिदियो।

फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च नेतृत्वविहीन भएको छ।

बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन्। प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको हुनुपर्छ। यी दुई जनाबाहेक बाँकी न्यायाधीशले सर्वोच्चमा काम गरेको तीन वर्ष पुगेको छैन।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले भोलिको बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुने बताएका छन्।

‘भोलिको परिषद् बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुन्छ, न्यायालयको नेतृत्व खाली हुँदैन,’ मंगलबार वीरगन्जमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भने।

उनले संसदीय सर्वोच्चता स्थापित गर्न यसपालि सुनुवाइ समितिले परिषद्ले सिफारिश गरेका जोशीलाई अस्वीकृत गरेको बताए।