दमक/रोटरी क्लब अफ दमक झापाले जिल्लामा सामाजिक सेवाको कार्यक्रमहरुलाई आगामी दिनमा अझ सशक्त रुपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
रोटरी क्लब अफ दमकका अध्यक्ष मोहन ढकालले आज दमकमा पत्रकार भेटघाट कार्यक्रम गरी त्यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो । उहाँले सामाज सेवा गर्नकै लागि आफू रोटरी क्लबमा आएकाले दमक तथा आसपासको शान्ति, शिक्षा, आर्थिक विकास, रोगथाम तथा उपचार, स्वास्थ्य र मातृ शिशु स्वास्थ्यका क्षेत्रमा विशेष कार्य गर्न लागेको बताउनु भयो ।
उहाँले रोटरीको टिच कार्यक्रमअन्तर्गत दमक नगरपालिका ८ स्थित जनता आधारभूत विद्यालयलाई हेप्पी स्कुल बनाउन लागेको बताउनु भयो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन तथा विद्यार्थीलाई विद्यालयमा रमाइलो हुने वातावरण बनाउने गरी जनता स्कुलमा लगानी गरिरहेको उहाँले बताउनु भयो ।
उहाँले हेप्पी स्कुल बनाउन स्वच्छ खानेपानीको व्यवस्था, सरसफाई, शौचालय मर्मत सम्भार, डेक्स बेच्न निर्माण, विद्यालय रंगरोगन, खेल सामग्री वितरण र दुई थान कम्प्युटर प्रदान प्रदान गरेको बताउनु भयो ।
सन् २०१८ जुलाई १ तारिखदेखि अध्यक्ष बन्नु भएका ढकालले रोटरी क्लब अफ दमकको पहलमा केही साताभित्रै दमकमा डायलासिस मेसिन भित्र्याउन लागेको बताउनु भयो ।
उहाँले मृगौला खराब भएका विरामीहरु डायलासिस मेसिनको अभावमा धरान, विराटनगर र बिर्तामोड धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै अबदेखि दमकमा डायलासिस गर्न मिल्ने गरी सो मेसिन ल्याउन लागेको बताउनु भयो ।










