ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मुस्ताङको जोमसोममा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्न निर्देशन दिएका छन् । आन्तरिक तथा बाह्य पर्यटकले बढी भ्रमण गर्ने हुँदा यसको तयारी गर्न निर्देशन दिइएको हो ।
मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन गर्दै मन्त्री पुनले पर्यटकको उडान र यसको सुरक्षाको व्यवस्थामा उच्च सतर्कता अपनाउन जरुरी रहेको बताए । मुस्ताङ उच्च हिमाली जिल्ला भएको र यहाँ हवाई तथा स्थलमार्गबाट जाने पर्यटकले धेरै दुःख पाएको सन्दर्भ जोड्दै उनले भने, ‘मौसम पूर्वानुमान गरी कुन समयमा त्यहाँ उडान गर्न मिल्छ भन्ने स्पष्ट हुन्छ ।’
स्थलमार्गबाट भ्रमण गर्ने पर्यटकको हकमा पनि कुन समयमा त्यहाँ जान सकिने वा कुन मौसम उपयुक्त हुने भन्ने पूर्वजानकारी हुन्छ । यसैले पनि त्यहाँ मौसम पूर्वानुमान केन्द्र राख्नुपर्नेमा मन्त्री पुनले जोड दिए । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यसको व्यवस्था तथा सुरक्षा उपाय अपनाउन पनि केन्द्र जरुरी रहेको मन्त्री पुनको भनाइ छ । केन्द्र राख्न आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न सरकार तयार रहेको पनि उनले बताए । उर्जा खबर बाट










