काठमाडौं – तत्कालीन एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनाएर चुनावमा होमिने योजना बनाउनेमध्येका एक प्रमुख सूत्रधार वामदेव गौतम त्यही चुनावमा पराजित हुनुभयो ।

गएको मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका तत्कालीन एमालेका वामदेव गौतम कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित हुनुभएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशैभर वाम लहर चल्दा चुनाव हारेका गौतमलाई अहिले उपचुनावबाट संसदमा ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्तरिक तयारी थालेको छ । पर्यटन राज्यमन्त्री रहेका नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर डोल्पामा उपचुनाव गराई गौतमलाई उम्मेदवार बनाउने तयारी गरिएको हो ।

२०७० को दोस्रो संविधानसभामा तत्कालीन एमाले प्रवेश गरेर सभासद् समेत बनेका बुढा गएको मंसिरमा भएको चुनावमा पनि ११ हजार ७ सय ६१ मत ल्याउँदै विजयी हुनुभएको हो । एमाले प्रवेश गर्नुअघि बुढा लामो समय राप्रपाको राजनीतिमा हुनुहुन्थ्यो ।

अहिले तिनै बुढालाई सांसदबाट राजीनामा गर्न लगाएर डोल्पामा उपचुनाव गराई गौतमलाई उम्मेदवार बनाउने नेकपाले आन्तरिक तयारी थालेको हो ।

वामदेव नै किन ?

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर चुनावमा होमिँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भएको खण्डमा आफ्नो तर्फबाट भावी प्रधानमन्त्रीमा गौतमलाई अघि सार्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

अहिले पार्टी पनि एक भइसकेको छ । अहिल्यै प्रधानमन्त्री परिवर्तन नभए पनि गौतमलाई संसदमा ल्याउन पाए आफू बलियो बन्ने बुझाइ प्रचण्डमा रहेको देखिन्छ ।

दाहाल र गौतमको निकटता लामो समयदेखिकै हो । गौतमकै शब्दमा भन्नुपर्दा ‘प्रचण्डसँगको दोस्ती पुरानो हो, पार्टी एकतापछि त झनै गाढा बनेको छ ।’ उता प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले पनि संसदमा तपाईँको आवश्यकता परेको भन्दै सांसद बनाउने आश्वासन गौतमलाई दिइसक्नुभएको छ ।

चुनावका बेला वाम गठबन्धनको जितको लहरमा वामदेव ‘मिस’ हुँदा गठबन्धनका मुख्य दुबै धार एमाले र माओवादी पंक्ति खिन्न थियो । वामदेव दुई पार्टीको मिलनका सेतु हुनुहुन्थ्यो ।

चुनाव हारे पनि दुबै पार्टीलाई एक गराउने सवालमा खेलेको भूमिकाले गर्दा गौतम तत्कालीन एमाले र माओवादीभित्र प्रशंसाको पात्र बन्नुभयो । त्यसैले अहिले वामदेवलाई जसरी पनि सांसद बनाउने तयारीमा नेकपा लागेको हो ।

‘मेरो अनुभव नै संसद छिर्ने बाटो’

गौतमले आफूसँग २०४८ देखि पटक पटकको संसदमा रहँदाको अनुभव रहेकाले पार्टीले अहिले पनि संसदमा लैजान खोजेको बताउनुभयो । २०४८, २०५१ र २०७० मा सांसदको रुपमा काम कारवाही सफल बनाउन आफूले महत्वपूर्ण भूमिका खेलेको बताउँदै गौतमले अहिले पनि पार्टीले आफ्नो आवश्यकता देखेरै संसदमा लैजाने तयारी गरेको खुलाउनुभयो ।

संविधान निर्माण, शान्ति प्रकृया र गणतन्त्र ल्याउन आफूले निकै ठूलो भूमिका निर्वाह गरेको भन्दै गौतमले अहिलेको संसद सफल बनाउन पनि पाएको भूमिका कुशलतापूर्वक निर्वाह गर्न तयार रहेको बताउनुभयो । संसदलाई दिशा दिन सक्ने, सबैलाई मिलाएर हिँड्ने आफूजस्तो नेताको अहिले खाँचो रहेको उहाँको दावी छ ।

नागरिकले चुनावमा पराजित गराईदिएको भए पनि फेरि सांसद हुन किन मरिहत्ते गरेको भन्ने जिज्ञासामा गौतमले आफू हारेको नभई प्राविधिक कारणले मात्रै पछि परेको र अब यतिकै संसद छिर्ने नभई नागरिकबाटै अनुमोदन भएर जाने बताउनुभयो ।

मलाई जानकारी नै छैन : बुढा

गौतमलाई अहिले पर्यटन राज्यमन्त्री समेत रहेका नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर डोल्पामा उपचुनाव गराई उम्मेदवार बनाउने आन्तरिक तयारी गरिएको छ ।

तर राज्यमन्त्री बुढाले भने राजीनामाबारे अहिलेसम्म आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

पार्टीले के निर्णय गर्छ त्यसै अनुरुप अघि बढ्ने भन्दै बुढाले आफ्नो योगदान पार्टीले कदर गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।